
काठमाडौं। नेपालमै निर्माण गरिएको विद्युतीय स्कुटर सिप्रदी यात्री पी-२ सार्वजनिक गरिएको छ। यात्रीले पी-२ लाई तीन ओटा भेरियन्टमा बजारमा ल्याएको हो।

पी-२ को टप भेरियन्टमा ५.२ किलोवाट प्रतिघण्टा क्षमताको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा २०७ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
त्यस्तै, मिड भेरियन्टमा ३.२ प्रतिघण्टा क्षमताको ब्याट्री राखिएको छ, जसले १६२ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ। लो भेरियन्टमा ३.० kWh ब्याट्री रहेको छ भने यसले १४० किलोमिटरसम्म रेन्ज दिने जनाइएको छ।
पी-२ को अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको छ। १,३५० वाटको चार्जर प्रयोग गर्दा ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २.५ घण्टा लाग्ने कम्पनीले जनाएको छ।

यस्तै, ३,३०० वाट डीसी फास्ट चार्जर प्रयोग गर्दा २० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न ४१ मिनेट लाग्ने जनाइएको छ।
पी-२ का प्रयोगकर्तालाई सहज चार्जिङ सुविधा उपलब्ध गराउन नेपालका ३५ शहरमा चार्जिङ स्टेसन रहेको कम्पनीले जनाएको छ।
नेपालमै निर्माण गरिएको पी-२ मार्फत उच्च रेन्ज, फास्ट चार्जिङ तथा विभिन्न ब्याट्री क्षमताका विकल्प उपलब्ध गराउँदै विद्युतीय सवारी बजारमा आफ्नो उपस्थितिलाई थप विस्तार गर्ने लक्ष्य यात्रीले राखेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
