Nepal Purbadhar

तस्बिरहरूमा हेर्नुहोस् काठमाडौँका सडकमा अझै असरल्ल तार


काठमाडौं। काठमाडौँ उपत्यकाका मुख्य सडक र बजार क्षेत्र अझै पनि बिजुली, टेलिफोन तथा इन्टरनेटका अव्यवस्थित तारले भरिएका छन्। सम्बन्धित निकायले पटकपटक निर्देशन दिए पनि तार व्यवस्थापनको काम अझै पूरा हुन सकेको छैन।

योजनाविहीन पूर्वाधार विस्तार, सेवा प्रदायकबीच समन्वयको अभाव, प्रयोगविहीन तथा पुराना तार समयमै नहटाइनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीका कारण उपत्यकामा तार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ अन्तिममा काठमाडौंका ६ वटा मुख्य रुटमा टेलिफोन तथा इन्टरनेटका तार १५ दिनभित्र व्यवस्थापन गर्ने योजना सार्वजनिक गरेको थियो। त्यसपछि गत असार अन्तिममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको संयुक्त बैठकले साउन १५ भित्र सबै अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको थियो।

प्राधिकरणले त्रिपुरेश्वर-कालिमाटी-कलंकी, जडीबुटी-पेप्सीकोला, त्रिपुरेश्वर-लाजिम्पाट, सामाखुशी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर तथा पुरानो बानेश्वर-गौशाला-चाबहिल क्षेत्रमा तार व्यवस्थापन गर्ने योजना बनाएको थियो। तर, अपेक्षित गतिमा काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसकेपछि व्यवस्थापनका लागि थप १५ दिन आवश्यक पर्ने देखिएको छ। साउन मसान्तभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणको भनाइ छ।

अव्यवस्थित रूपमा झुन्डिएका तारले करेन्ट लाग्ने, आगलागी हुने तथा तार चुँडिएर दुर्घटना हुने जोखिम बढाएको छ। यस्तै, मर्मत-सम्भारका क्रममा कुन सेवा प्रदायकको तार हो भन्ने पहिचान गर्न कठिन हुने भएकाले सेवा अवरुद्ध हुने, मर्मतमा बढी समय र लागत लाग्ने तथा एउटा कम्पनीको तार मर्मत गर्दा अर्को कम्पनीको सेवा प्रभावित हुने समस्या पनि देखिएको छ।

यही कारण प्राधिकरणले सबै सेवा प्रदायकलाई आफ्ना तारमा कम्पनीको पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न निर्देशन दिएको थियो। तर, उक्त निर्देशनसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।

अहिलेसम्म पनि नयाँबजार, स्वयम्भू, बानेश्वरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा बिजुली, टेलिफोन र इन्टरनेटका तारको गुजुल्टो यथावत् देख्न सकिन्छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


Read Previous

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको बल्क डेलिभरी सुरु

Read Next

सम्झौता कार्यान्वयनमा मन्त्रालयको कडाइ, पत्र बुझ्न नमानेपछि उद्योगको गेटमै टाँसियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar