Nepal Purbadhar

पहिरोले अवरुद्ध भयो बेनी-जोमसोम सडक, बैसेरीमा पहिरो पन्छाउने एक्साभेटरसमेत पुरियो

फाइल तस्बीर।


गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडक आइतबार दिउँसो पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार रघुगंगा गाउँपालिका-२ बैसेरीमा सडकमाथिबाट ठूलो पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो।

पहिरो हटाउने क्रममा थप पहिरो खसेपछि सडक खुलाउने काममा प्रयोग गरिएको एक्साभेटरसमेत पुरिएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक कार्कीले पहिरो हटाउने काम सुरु गरिएको भए पनि ठूलो परिमाणमा पहिरो खसेकाले सडक नियमित सञ्चालनमा आउन केही समय लाग्ने बताए।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला सुरक्षा समितिले आइतबार र सोमबार रातिको समयमा बेनी-जोमसोम सडकमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार दुवै दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ।

बेनी-जोमसोम सडक कालीगण्डकी करिडोरको महत्वपूर्ण खण्ड हो। यही सडकमार्फत सयौँ आन्तरिक तथा बाह्य पर्यटक मुक्तिनाथ हुँदै कोरला नाकासम्म यात्रा गर्ने गर्छन्।

प्रशासनले वर्षा जारी रहेकाले उक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा पनि उच्च सतर्कता अपनाउन यात्रु र सवारी चालकलाई आग्रह गरेको छ।


Read Previous

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

Read Next

१० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ, कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? (सूची सहीत)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar