
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गराउन देशभरका सेवाप्रदायक अस्पतालका सम्पर्क व्यक्ति (फोकल पर्सन)हरूको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको सूचीमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरू समावेश छन्। प्रत्येक अस्पतालका जिम्मेवार सम्पर्क अधिकारीको नाम र फोन नम्बरसमेत सार्वजनिक गरिएको छ, ताकि निःशुल्क उपचार सेवा लिन समस्या परे सेवाग्राहीले सिधै सम्बन्धित अधिकारीसँग सम्पर्क गर्न सकून्।
मन्त्रालयका अनुसार १० प्रतिशत निःशुल्क शय्या सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न, सेवाको प्रभावकारी कार्यान्वयन गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न यो व्यवस्था गरिएको हो।
सार्वजनिक सूचीमार्फत सेवाग्राहीले निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, सेवा प्राप्तिमा देखिएका समस्या समाधान गराउन तथा आवश्यक परे गुनासो दर्ता गर्न सक्नेछन्।
मन्त्रालयले कार्यविधिअनुसार अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाइएको जनाएको छ।
यसअघि नै मन्त्रालयले निःशुल्क शय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याइसकेको छ। सो प्रणालीमार्फत अस्पतालहरूले आरक्षित निःशुल्क शय्याको विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सबै सेवाग्राहीलाई आवश्यक परे सार्वजनिक गरिएको सम्पर्क विवरण प्रयोग गरी निःशुल्क उपचारसम्बन्धी जानकारी लिन, सेवा प्राप्तिमा समस्या भए गुनासो गर्न तथा सम्बन्धित अस्पतालसँग समन्वय गर्न आग्रह गरेको छ।
health_facility_kdpu2yh
