Nepal Purbadhar

राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३ को औपचारिक उद्घाटन कार्यक्रममा संघीय संसदका सभामुख डोलप्रसाद अर्याल।


काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्।

नबौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३ को औपचारिक उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई राज्यको विकास यात्राको महत्वपूर्ण साझेदारका रूपमा लिएर लगानीको सुरक्षा, सहज व्यावसायिक वातावरण र दीर्घकालीन नीतिगत स्थायित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

सभामुख अर्यालले राज्यले नीति तथा कानुन निर्माण गर्ने, निजी क्षेत्रलाई आवश्यक संरक्षण र सहज वातावरण उपलब्ध गराउने तथा प्रभावकारी नियमन गर्ने भूमिका निर्वाह गर्नुपर्ने बताए। निजी क्षेत्रले लगानी, उत्पादन, रोजगारी सिर्जना र राजस्वमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै उनले निजी क्षेत्रको सहभागिताबिना आर्थिक विकासको लक्ष्य हासिल गर्न कठिन हुने बताए।

सरकारले निर्माण गर्ने कानुन दीर्घकालीन सोचका आधारमा बन्नुपर्ने उनको भनाइ थियो। सरोकारवाला, विज्ञ, व्यवसायी तथा नागरिकसँग पर्याप्त छलफल र परामर्श गरेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले पटक-पटक कानुन संशोधन गर्नुपर्ने अवस्था अन्त्य गर्न कानुन निर्माणकै चरणमा व्यापक अध्ययन र छलफल आवश्यक रहेको बताए।

“हामीले बनाउने कानुन आजको समस्या समाधान गर्न मात्र होइन, आगामी दशकलाई समेत हेरेर बनाउनुपर्छ,” उनले भने, “हाम्रो भूगोल, नागरिकको क्षमता, राज्यको स्रोतसाधन र आर्थिक अवस्थालाई ध्यानमा राखेर नागरिकमैत्री कानुन निर्माण गर्न आवश्यक छ।”

सभामुख अर्यालले घरजग्गा तथा निर्माण क्षेत्रलाई केवल जग्गा खरिद-बिक्रीको विषयका रूपमा मात्र बुझ्न नहुने बताए। यस क्षेत्रसँग बैंकिङ, बीमा, सिमेन्ट, छड, निर्माण सामग्री, इन्जिनियरिङ र आर्किटेक्चरलगायतका थुप्रै क्षेत्र प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले निर्माण क्षेत्रले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

उनले निजी क्षेत्रको विकास सीमित व्यक्ति वा समूहमा मात्र केन्द्रित हुन नहुने बताए। साना तथा मझौला व्यवसायी र नयाँ उद्यमीलाई समेत अघि बढ्ने अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले व्यवसाय र उद्यमलाई सम्मान गर्ने संस्कृतिको विकाससँगै व्यावसायिक सफलता, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउनुपर्ने बताए।

विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आकर्षित गर्न लगानीको सुरक्षा र व्यावसायिक प्रक्रियामा सहजता आवश्यक रहेको उनले बताए। कम्पनी दर्ता, कर भुक्तानीलगायतका प्रक्रियालाई सरल र लगानीमैत्री बनाउनुपर्ने उल्लेख गर्दै उनले राज्यले निजी क्षेत्रलाई सम्मानपूर्वक व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए।

सभामुख अर्यालले आगामी पुस्ताका लागि नेपालमै रोजगारी, उद्यम र लगानीका अवसर सिर्जना गर्नुपर्ने बताए। संसार खुला हुँदै गएको अवस्थामा नेपाली युवाले आफ्नो क्षमता जुनसुकै मुलुकमा प्रयोग गर्न सक्ने भएकाले स्वदेशमै अवसर र भविष्य निर्माण गर्न सकिने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

विकास निर्माण गर्दा प्राकृतिक विपद्को जोखिमलाई समेत गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै उनले भूकम्प, बाढी र पहिरोलगायतका जोखिमलाई ध्यानमा राखेर सुरक्षित, वातावरणमैत्री र दिगो संरचना निर्माण गर्नुपर्ने बताए। विपद्पछिको पुनर्निर्माणमा समेत निजी क्षेत्रको विज्ञता र अनुभव उपयोग गर्नुपर्ने उनले बताए।

सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्यबाट राज्यका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने उल्लेख गर्दै सभामुख अर्यालले नबौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी २०८३ ले लगानी, प्रविधि, नवप्रवर्तन र निर्माण क्षेत्रका सम्भावनाबारे थप संवाद र सहकार्यको वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे। उनले प्रदर्शनीको सफलताको शुभकामना पनि व्यक्त गरे।


Read Previous

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारीमा सरकार, २ महिनामा दिने दाबी

Read Next

भोटेकोशी बाढीपछि ऊर्जा मन्त्रालयका १५ दिन, विद्युत् सेवा सुचारुदेखि के के काम भए?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar