Nepal Purbadhar

अतिरिक्त ढुवानी खर्च नलिन महासंघको आग्रह, ग्याँसको मूल्य घट्ने, २ हजार ६० रुपैयाँमै पाइने


काठमाडौं। नेपाल एल.पि. ग्याँस उद्योग संघले काठमाडौँ उपत्यकामा एलपी ग्याँस साविककै मूल्यमा बिक्री गर्न उद्योगी तथा विक्रेतालाई निर्देशन दिएको छ।

संघले असोज १ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार असोज २ गते शुक्रबारदेखि निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिई एलपी ग्याँस बिक्री गर्न उद्योगी तथा विक्रेतालाई आग्रह गरिएको छ।

यसअघि पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक लामो मार्गबाट ग्याँस ढुवानी गर्नुपर्दा उपत्यकामा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप ढुवानी खर्च जोडिएको थियो। त्यसअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको थियो।

२०८३ भदौ १४ गते कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गको केही भाग कटान भएर सडक अवरुद्ध भएपछि मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगबाट सिलिन्डर रिफिल गरी वैकल्पिक मार्ग हुँदै काठमाडौँ उपत्यकामा ग्याँस आपूर्ति गरिएको थियो।

सडक अवरुद्ध हुँदा वैकल्पिक लामो मार्ग प्रयोग गर्नुपरेपछि थपिएको ढुवानी खर्च उपभोक्ताबाट उठाउन संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी बिक्री गर्न आग्रह गरेको थियो।

हाल अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्रयाक निर्माण गरी यातायात सञ्चालनमा आएसँगै एलपी ग्याँसका बुलेटहरू पुनः सीधै काठमाडौँ आउन थालेका छन्।

वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटेपछि थप ढुवानी शुल्क फिर्ता गर्दै साविककै मूल्यमा ग्याँस बिक्री गर्न निर्देशन दिइएको संघले जनाएको छ।

यससँगै काठमाडौँ उपत्यकामा एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसाबाट घटेर २ हजार ६० रुपैयाँ कायम भएको छ।


Read Previous

चार हिमताल फुटाइने, जलविद्युत् आयोजनामा ६ बुँदे सुरक्षा अवधारणा लागू हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar