Nepal Purbadhar

सुरुङबाट उद्धार गरिएका महर्जनलाई अस्पताल ल्याइँदै, साहको अवस्था सामान्य


काठमाडौं। रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका कविर महर्जनलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ भने सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

महर्जनलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित छाउनी अस्पताल ल्याउन लागिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार महर्जनलाई थप उपचारका लागि छाउनी अस्पताल ल्याउन लागिएको हो।

उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धारपछि सेनाले गरेको स्वास्थ्य परीक्षणमा साहको अवस्था सामान्य देखिएको हो।

भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र महर्जन र साह फसेका थिए। नेपाली सेना, सशस्त्र प्रहरीलगायतको संयुक्त उद्धार टोलीले शुक्रबार १० दिनपछि दुवै जनालाई जीवितै बाहिर निकालेको हो।

महर्जन त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन् भने साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।

मर्मतको काम भइरहेका बेला साह पनि आयोजनामा पुगेको हुनसक्ने बताइएको छ। बाढी आएपछि उनीहरू सुरुङभित्र फसेका थिए।

१० दिनसम्म सुरुङभित्र रहेका दुवै जनाको जीवितै उद्धार भएपछि साहको स्वास्थ्य परीक्षण गरिएको हो। महर्जनलाई भने थप उपचार तथा स्वास्थ्य निगरानीका लागि छाउनी अस्पताल ल्याउन लागिएको छ।


Read Previous

सुरुङबाट उद्धार गरिएका व्यक्तिहरू को हुन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar