Nepal Purbadhar

हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ माघमा, ३० हजारभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा


काठमाडौं। नेपालको स्वच्छ ऊर्जा क्षेत्रका प्रविधि, लगानी, नवप्रवर्तन र व्यवसायिक अवसरलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौंमा एक्स्पो आयोजना गर्न लागिएको हो। ‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल (Resilient Energy, Prosperous Nepal)’ भन्ने नारासहित आयोजना हुने एक्स्पो पाँचौं संस्करण हो।

यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा एक्स्पो आयोजना भइसकेको थियो। इप्पानको स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको यस एक्स्पोलाई आगामी वर्षदेखि हरेक वर्ष माघ ३, ४ र ५ गते आयोजना हुने वार्षिक ऊर्जा कार्यक्रमका रूपमा विकास गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

३० हजार मेगावाटको लक्ष्य र लगानीको अवसर

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको र आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य रहेको आयोजकले जनाएको छ।

हाल करिब ६४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर निर्माणको तयारीमा रहेका छन्। निर्माण सम्पन्न भएका आयोजनामा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको आयोजकको दाबी छ।

आयोजकका अनुसार ३० हजार मेगावाटको लक्ष्य हासिल गर्न विद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधार विस्तार, घरेलु विद्युत् खपत वृद्धि, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक छ।

यही आवश्यकतालाई ध्यानमा राख्दै एक्स्पोलाई ऊर्जा क्षेत्रका लगानीकर्ता, प्रविधि प्रदायक, उपकरण निर्माता, नीतिनिर्माता, नियामक, आयोजना विकासकर्ता तथा अन्य सरोकारवालाबीच लगानी, प्रविधि र साझेदारीका अवसर सिर्जना गर्ने साझा मञ्चका रूपमा विकास गर्न लागिएको आयोजकले जनाएको छ।

जलवायु उत्थानशील पूर्वाधारमा जोड

जलविद्युत् क्षेत्रको विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिम पनि बढ्दै गएको भन्दै एक्स्पोमा सुरक्षित, दिगो तथा विपद्-उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका विषयमा समेत छलफल गरिनेछ।

पछिल्ला वर्षमा इलाम, संखुवासभा, लमजुङलगायतका जिल्लामा भएका बाढी तथा पहिरो र भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएका बाढीबाट ऊर्जा पूर्वाधारमा परेको प्रभावलाई समेत ध्यानमा राखेर जोखिम न्यूनीकरण, नयाँ प्रविधि, लगानी र नवप्रवर्तनका विषयमा अनुभव आदानप्रदान गरिने आयोजकले जनाएको छ।

जलविद्युत् बाहेकका प्रविधिसमेत प्रदर्शनीमा

एक्स्पो जलविद्युत्मा मात्र सीमित नरहने आयोजकले जनाएको छ। सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, ग्रिन हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, कृत्रिम बुद्धिमत्ता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिसहितका उत्पादन तथा समाधान प्रदर्शनीमा राखिनेछन्।

टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि पनि प्रदर्शन गरिनेछन्।

यसपटक ‘एकीकृत हरित ऊर्जा बजार’ (Integrated Green Energy Market Place) को अवधारणालाई अघि बढाइने आयोजकले जनाएको छ।

बीटुबीदेखि ग्रीन इनर्जी कन्फरेन्ससम्म

एक्स्पोमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन तथा स्टार्टअप हब सञ्चालन गरिनेछ।

त्यस्तै, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो-कन शो, ईभी र्‍याली तथा गाला नेटवर्किङ डिनरसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई समेत एक्स्पोमा समावेश गरिनेछ।

भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत विभिन्न देशका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी गरिएको छ।

सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग, सञ्चारमाध्यम तथा ऊर्जा क्षेत्रका विज्ञलाई समेत एक्स्पोमा सहभागी गराउने आयोजकको तयारी छ।

आयोजकका अनुसार एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् भने तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

एक्स्पोमा सहभागिता तथा स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।


Read Previous

सरकारी निर्णयमा अब डिजिटल प्रणाली अनिवार्य, ढिलाइ भए फाइल २४ घण्टामै माथिल्लो तहमा पुग्ने

Read Next

सुरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै अन्तर्राष्ट्रिय बजारमा पहुँच खोज्न सकिन्छ : सञ्चारमन्त्री तिमिल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar