
काठमाडौं । सोमबार बिहान विश्वकप फुटबलको फाइनल खेल सञ्चालन भइरहेका विद्युत पटक पटक जाने/आउने भइरह्यो ।
विश्व कप हेरिरहेका लाखौ नेपाली खेलप्रेमीहरुले बत्ती जाने आउने भइरहेपछि सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । देशभर फुटबल हेरिरहेका बेला बत्ती गएपछि विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयमाथि उनीहरुले आक्रोश पोख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
तर किन भयो त यस्तो समस्या ?
नेपाल विद्युत प्राधिकरणका अनुसार बिहान १२:४५ देखि वल्डकप सुरु भएको थियो । करिब १:५४ बजे पथलैया–ढल्केवर १३२ केभी प्रसारण लाइनअन्तर्गत पथलैया निकुञ्ज क्षेत्रमा प्रतिकूल मौसमका कारण रूख ढल्दा विद्युत् प्रसारण प्रणालीमा आंशिक अवरोध (Partial System Outage) भएको हो ।
प्राधिकरणका अनुसार उक्त घटनाले प्रसारण सञ्जालमा ‘रिङ ब्रेक’ (Ring Break) गराएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा केही समयका लागि विद्युत् आपूर्ति प्रभावित भएको थियो।
विश्वकप फुटबलको फाइनल जस्तो विशेष अवसरलाई ध्यानमा राख्दै उपभोक्तालाई निर्बाध विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणले सम्पूर्ण सबस्टेशन, नो–लाइट सेवा तथा प्राविधिक जनशक्तिलाई ‘हाइ अलर्ट’मा राखेको थियो । तर, निरन्तर वर्षाका कारण रूख ढल्दा उत्पन्न अप्रत्याशित प्राकृतिक घटनाले प्रसारण प्रणालीमा अवरोध सिर्जना गरेको प्राधिकरणको भनाइ छ।
घटनालगत्तै प्राधिकरणका प्राविधिक टोली परिचालन गरी वैकल्पिक प्रसारण मार्ग (Alternative Arrangement) मार्फत विद्युत् प्रणालीलाई यथाशीघ्र पुनः सञ्चालनमा ल्याइएको थियो ।
विश्वकप फुटबलको फाइनल खेल हेरिरहेका खेलप्रेमी तथा विद्युत् अवरोधबाट प्रभावित सम्पूर्ण उपभोक्तामाप्रति प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठले क्षमा मागेका छन् ।
