Nepal Purbadhar

पहिरोले सडकहरू अवरुद्ध, सडक दुर्घटनामा एक जनाको मृत्यु, ईभीको ठक्करले आमाछोरीको ज्यान गयो


काठमाडौं। वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् भने विभिन्न स्थानमा भएका सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ भने चितवनमा तीन सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।

पहिरोका कारण विभिन्न सडक अवरुद्ध

प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड वर्षा तथा पहिरोका कारण प्रभावित भएका छन्।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, गोसाइँकुण्ड गाउँपालिका-२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट-डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको थवाङ गाउँपालिका-२ लाद्रेमा पहिरो खसेपछि सहिद राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम कायम रहेकाले अवस्था हेरेर मात्रै यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।

चितवनमा तीन सवारीसाधन ठोक्किँदा एकको मृत्यु, एक घाइते

चितवनको भरतपुर महानगरपालिका-१ आँपटारीमा तीन ओटा सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नारायणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आएका ट्रक तथा कार आज बिहान आपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१३ का २१ वर्षीय सन्देश विष्ट गम्भीर घाइते भएका थिए। उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका-७ का १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सवारीसाधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुकुममा ईभीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।

आइतबार बिहान सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे १ ज १४८२ नम्बरको विद्युतीय हाइस गाडीले सडक किनारमा रहेका आमाछोरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवालीको मृत्यु भएको हो।

प्रहरीका अनुसार स्वस्तिका आफ्ना श्रीमान्लाई भेटेर छोरीसहित फर्किने क्रममा थिइन्। छोरीलाई शौचालय लैजानका लागि सवारी रोकेर आमाछोरी सडक किनारमा रहेका बेला सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको ईभीले उनीहरूलाई ठक्कर दिएको बताइएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका आमाछोरीलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न ईभी र त्यसका चालक सानीभेरी गाउँपालिका-३ चौखे निवासी २२ वर्षीय अमर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी टोलीसमेत परिचालन गरिएको छ।

वर्षा र पहिरोका कारण सडकको अवस्था जोखिमपूर्ण भइरहेका बेला देशका विभिन्न स्थानमा दुर्घटनासमेत बढेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न र सावधानी अपनाउन आग्रह गरेको छ।


Read Previous

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीहरू घर फर्किए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar