
मनाङ। लालुपाते हाइड्रोपावर कम्पनीले मनाङको नासों गाउँपालिका-५ स्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको छ।
नासों गाउँपालिका-२ मा निर्माणाधीन ४९.९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले आयोजनाको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट वितरण गरेको हो।
कम्पनीका अध्यक्ष एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई ट्र्याकसुट वितरण गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पद्मराज पन्तले दाना खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले विद्यालय र विद्यार्थीका लागि गरेको सहयोगप्रति आभार व्यक्त गरे।
त्यस्तै, नासों गाउँपालिका-४ का वडा अध्यक्ष एवं गाउँपालिकाको सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङले लालुपाते हाइड्रोपावर कम्पनीले स्थानीय समुदाय तथा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे।
कार्यक्रममा कम्पनीका अध्यक्ष डाँगीले जलविद्युत आयोजना निर्माण गर्ने प्रवर्द्धक कम्पनीले ऊर्जा उत्पादनमा मात्र नभई स्थानीय क्षेत्रको विकास र समृद्धिमा समेत योगदान गरिरहेको बताए।
‘एउटा प्रवर्द्धक कम्पनीले दुर्गम क्षेत्रमा पुगेर आयोजना मात्रै बनाउँदैन, स्थानीय क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पनि योगदान गरिरहेको हुन्छ। यसले देशलाई समृद्धिको यात्रामा सहयोग पुग्छ,’ उनले भने।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नासों गाउँपालिका-४ का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक धर्मजंग गुरुङ, वडा नम्बर-५ का वडा अध्यक्ष थुतेन लामा, प्रवर्द्धक कम्पनीको नासोंस्थित साइट कार्यालयका प्रशासन प्रमुख नवीन खतिवडा, सुरक्षा इन्चार्ज चोकबहादुर गुरुङ तथा कम्पनीका सहायक जनसम्पर्क अधिकृत अर्जुन गुरुङलगायतको उपस्थिति थियो।




