Nepal Purbadhar

तारकेश्वर-६ जरङ्खुमा पहिरो, ५० घर प्रभावित

तस्बिर : नेपाल फोटो लाइब्रेरी


काठमाडौं । तारकेश्वर नगरपालिका-६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। पहिरोका कारण ४-५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलमा आवतजावतसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो। करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माण कार्य निकै ढिलो गतिमा अघि बढेको उनीहरूको गुनासो छ।

निर्माणस्थलबाट माटो तथा बालुवा सडकमा थुप्रिँदा हिँडडुल गर्नसमेत समस्या भएको स्थानीयले बताएका छन्। निर्माणस्थलबाट माटो हटाउने र सडक सफा गर्ने काम नियमित नहुँदा थप समस्या भएको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार उक्त निर्माणाधीन घर किरण रिजालको हो। निर्माणका क्रममा आवश्यक सावधानी नअपनाउँदा टोलवासीले समस्या भोग्नुपरेको उनीहरूको आरोप छ। उनीहरूले तत्काल माटो हटाउने, सडक व्यवस्थित गर्ने र पहिरो नियन्त्रणका लागि आवश्यक काम गर्न निर्माण पक्षसँग माग गरेका छन्।

स्थानीयका अनुसार पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या थिएन। डोजर लगाएर जमिन काटिएपछि मात्रै पहिरोको समस्या सुरु भएको उनीहरूको भनाइ छ।

समस्या समाधानका लागि स्थानीयले जनप्रतिनिधिलाई समेत जानकारी गराउँदै आएका छन्। वडाध्यक्षलाई पटक-पटक पहिरो तथा सडकको अवस्थाबारे तस्बिर र भिडियोसहित जानकारी गराए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ। उपप्रमुखबाट भने समस्या हेर्ने आश्वासन पाएको उनीहरूले बताएका छन्।

टोल सुधार समितिमार्फत पनि निर्माण पक्षसँग समस्या समाधानका विषयमा छलफल भइरहेको स्थानीयले बताएका छन्। उनीहरूले पहिरो नियन्त्रण तथा सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।


Read Previous

‘मधेशका सर्वसाधारणलाई नाकामा दुःख दिँदैनौँ, तस्करविरुद्ध निर्मम हुन्छौँ’: अर्थमन्त्री

Read Next

लालुपाते हाइड्रोपावरद्वारा प्रकाश ज्योति माविका विद्यार्थीलाई ट्र्याकसुट वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar