
काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत संरचनामा फसेका व्यक्तिहरूको उद्धारका क्रममा सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको छ।
प्रतिनिधी सभा सदस्य श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी दिएको हो। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको जनाइएको छ।
सुरुङभित्रबाट मानिसको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेतका रूपमा लिइएको छ। उद्धार टोलीले सुरुङभित्रको अवस्था पहिचान गर्दै फसेका व्यक्तिसम्म पुग्ने प्रयास गरिरहेको छ।
टर्बाइन मर्मतका लागि भुमिगत पावर हाउसमा काम गरिरहेका३५ जना फसेको नेपाल विद्युत प्राधिकरणको अनुमान छ ।
यसैबीच, हिजो साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न रहेका सांसदले अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडीमार्फत काठमाडौं फर्कने तयारी रहेको बताएका छन्।
उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै उनले सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइने आशा व्यक्त गरेका छन्।
