Nepal Purbadhar

नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा स्टल निर्माण तीव्र


काठमाडौं। नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख प्रदर्शनी ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने प्रदर्शनीका लागि स्टल निर्माण तथा अन्य प्राविधिक तयारी तीव्र पारिएको छ।

प्रदर्शनीस्थलमा विभिन्न अटोमोबाइल ब्रान्ड, अटो पार्ट्स तथा कम्पोनेन्ट, टायर, ल्युब्रिकेन्ट्स, ब्याट्री, चार्जिङ पूर्वाधार, ग्यारेज उपकरण, बैंक तथा बीमा कम्पनीका स्टल निर्माण भइरहेको छ।

आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार यस वर्षको अटो शो नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुँदैछ।

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा सवारीसाधन ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।

अटो शोमा विद्युतीय सवारीसाधन, अत्याधुनिक अटोमोबाइल प्रविधि तथा मोबिलिटी क्षेत्रका नयाँ उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्। करिब ७० वटा स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरण राखिनेछन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको पनि उल्लेख्य सहभागिता रहनेछ।

प्रदर्शनी नजिकिँदै गर्दा भृकुटीमण्डपमा स्टल निर्माणको चहलपहल बढेको छ। स्टल निर्माणसँगै विद्युत् जडान, प्रकाश व्यवस्थापन, डिजिटल डिस्प्ले, ब्रान्डिङ तथा अन्य प्राविधिक पूर्वाधार निर्माणको काम पनि समानान्तर रूपमा अघि बढिरहेको छ।

यस वर्षको विशेष आकर्षणका रूपमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ पभेलियन रहने आयोजकले जनाएको छ। उक्त पभेलियनमार्फत नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन, विद्युतीय सवारी, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।

नाडाका अनुसार अटो शोले उपभोक्ता, व्यवसायी, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अन्य सरोकारवालाबीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर प्रदान गर्नेछ। साथै, नेपाली अटोमोबाइल तथा मोबिलिटी बजारमा भित्रिएका नयाँ प्रविधि, उत्पादन र सेवाका साथै क्षेत्रको भावी सम्भावनाबारे जानकारी लिन पनि प्रदर्शनी उपयोगी हुने अपेक्षा गरिएको छ।

भदौ ९ देखि १४ गतेसम्म सञ्चालन हुने नाडा अटो शो २०२६ लाई आयोजकले नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको प्रमुख व्यावसायिक मञ्चका रूपमा प्रस्तुत गरेको छ।

तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी


Read Previous

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

Read Next

चांगन डिपल नेभो क्यू०५ नेपाली बजारमा, मूल्य कति?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar