
काठमाडौं। २० मेगावाट क्षमताको लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाबाट उद्धार टोली फर्किएको छ। भदौ १० गतेको बाढीपछि डुबानमा परेको आयोजनाको सुरुङ तथा अन्य क्षेत्रमा खोजी गर्दा थप व्यक्ति नभेटिएपछि उद्धार टोली शुक्रबार फर्किएको हो।
आयोजनाका प्रवर्द्धकका अनुसार उद्धार टोलीले आयोजनाका विभिन्न क्षेत्रमा खोजी गरेको थियो। आयोजनाको सुरुङभित्रसमेत प्रवेश गरेर खोजी गर्दा केही नभेटिएपछि टोली फर्किएको हो।
भदौ १० गते आएको बाढीपछि आयोजनामा कार्यरत ३९ जना कामदार सम्पर्कविहीन भएका थिए। तीमध्ये १९ जनाको जीवितै उद्धार गरिएको थियो भने बिहीबार थप २ जनाको शव फेला परेको थियो।
बाढीपछि सम्पर्कविहीनमध्ये थप व्यक्ति सुरुङ तथा आयोजनाका अन्य संरचनामा फसेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजी जारी राखेको थियो। तर विभिन्न क्षेत्रमा खोजी गर्दा थप व्यक्ति नभेटिएपछि टोली फर्किएको आयोजनाका प्रवर्द्धकले बताएका छन्।
