
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजता हटाउन नेपाल आयल निगमले बुधबारदेखि देशभर १४.२ केजी तौल भएको भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
नेपाल आयल निगमले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा अबदेखि बजारमा साविककै १४.२ केजी तौलको भरी ग्यास सिलिण्डर उपलब्ध गराइने जनाएको छ।
निगमका अनुसार पछिल्ला दिनमा देखिएका ग्यास आपूर्तिसम्बन्धी प्राविधिक तथा व्यवस्थापकीय समस्या क्रमशः समाधान हुँदै गएका छन्। भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट र रिफाइनरीबाट हुने ग्यास लोडिङमा समेत सुधार आएकाले नियमित आपूर्ति सहज बन्दै गएको जनाएको छ।
यस्तै, उपभोक्ताबाट १४.२ केजी तौलकै भरी सिलिण्डरको माग बढ्दै गएपछि आधा तौलको सट्टा पूर्ण तौलको सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरिएको निगमले जनाएको छ। यो व्यवस्था बुधबारदेखि देशभरका सबै डिपो र आधिकारिक विक्रेतामार्फत लागू हुनेछ।
निगमले १४.२ केजी तौल भएको भरी ग्यास सिलिण्डरको उपभोक्ता मूल्य प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँ कायम रहेको पनि स्पष्ट पारेको छ।
उद्योगमन्त्री यादवको निर्देशनपछि गरिएको यो निर्णयले विशेष गरी चाडपर्व तथा माग बढी हुने समयमा उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना हुन नदिन र कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने निगमले जनाएको छ।
