
काठमाडौं । चीन सरकारले नेपालका बाढी प्रभावितका लागि घोषणा गरेको २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड रुपैयाँभन्दा बढी नगद सहयोग प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले २० लाख अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेका हुन्।
यसैगरी, चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोग समेत राजदूत माओमिङले हस्तान्तरण गरेका छन्।
सहयोग रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्ने बताए। नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको उनले जानकारी दिए।
उनका अनुसार चीन सरकारले उपलब्ध गराएका अन्य राहत सामग्रीसमेत नेपाल भित्रिन थालेका छन्। आइतबार मात्रै २ ओटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटलगायतका राहत सामग्री काठमाडौं ल्याइएको छ।
राजदूत माओमिङले थप सहयोग पनि निरन्तर गरिने बताए।
चीनतर्फ रोकिएका नेपालीलाई नेपाल फर्काउन पहल
रसुवामा आएको बाढीका कारण चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल फर्काउने विषयमा समेत पहल भइरहेको जानकारी राजदूत माओमिङले अर्थमन्त्रीलाई गराएका छन्।
जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको उनले बताए। थप केही दक्ष उद्धार प्राविधिकसमेत आइतबार नेपाल आइपुगेको उनको भनाइ छ।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको जानकारीसमेत राजदूत माओमिङले दिएका छन्।
चीनको सहयोगप्रति अर्थमन्त्री वाग्लेको धन्यवाद
चीन सरकारको सहयोग रकम बुझ्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अकल्पनीय विपत्तिबाट गुज्रिरहेको नेपाललाई चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
विपत्तिका कारण नेपाल र चीन दुवैले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले चीनले भोगेको क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख व्यक्त गरे। उनले बाढीका कारण ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली तथा उनीहरूका परिवारप्रति गहिरो समवेदना प्रकट गरे।
अर्थमन्त्री वाग्लेले विश्वको बढ्दो तापक्रमका कारण हिमालय क्षेत्रका मुलुकले व्यहोर्नुपर्ने विनाशकारी क्षतिको सुरुवात भएको उल्लेख गर्दै यसको सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताए।
यसपटकको बाढीबाट नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणमा चीनबाट ठूलो सहयोगको अपेक्षा रहेको पनि उनले बताए।
सहायता हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत माओमिङले बाढीका कारण ज्यान गुमाएका नेपाल र चीन दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण समेत गरेका थिए।
