
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेना र भारतबाट आएको सुरुङ विज्ञको संयुक्त टोलीले दुईवटा शव निकालेको छ।
आइतबार भारतीय सुरुङ विज्ञको टोली नेपाल आएपछि नेपाली सेनासँगको समन्वयमा सुरुङभित्र उद्धार अभियान सुरु गरिएको थियो। उद्धारका क्रममा सुरुङको करिब १०० मिटर भित्रबाट दुई जनाको शव फेला पारी बाहिर निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।
उनका अनुसार करिब २५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटरभित्रसम्म प्रवेश गरेको थियो। उक्त क्षेत्रमा जीवित व्यक्ति फेला पार्न नसकिएको उनले बताए।
“२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटर भित्रसम्म पुग्यो, त्यहाँसम्म जीवित व्यक्तिहरू फेला पार्न सकेनौं,” प्रवक्ता बस्नेतले भने।
चिलिमे जलविद्युत आयोजनाको सुरुङमा अझै चार जना कर्मचारी फसेको अनुमान गरिएको छ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनका अनुसार सुरुङमा जम्मा ६ जना कर्मचारी फसेको अनुमान गरिएको थियो।
भारतीय विशेषज्ञ टोली आएपछि आइतबारदेखि आयोजनाको सुरुङमा उद्धार अभियान तीव्र पारिएको हो। भारतीय टोलीले शनिबार हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको हवाई अनुगमन (रेकी) समेत गरेको थियो।
भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गर्दै अत्याधुनिक उपकरणको प्रयोग गरेर सुरुङ खोल्ने तथा त्यहाँ फसेकाहरूको उद्धार गर्ने काम अघि बढाएको छ।
उद्धार टोलीले सुरुङभित्रको जोखिमपूर्ण अवस्थाका बीच अवरोध हटाउँदै थप व्यक्तिको खोजी तथा उद्धार कार्य जारी राखेको छ।
