Nepal Purbadhar

विपद्पछि दूरसञ्चार सेवा सुचारु राख्न पर्दापछाडि हुवावे नेपालको २४ घण्टे प्रयास, कसरी चल्यो सेवा?


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका दूरसञ्चार पूर्वाधारमा ठूलो क्षति पुग्यो। बाढीका कारण मोबाइल बीटीएस टावर, अप्टिकल फाइबर, विद्युत् तथा ट्रान्समिसन पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सञ्चालन गर्नु चुनौतीपूर्ण बनेको थियो।

समाचारहरूमा आए जस्तो नेपाल टेलिकम र एनसेल नेपालले एक्लैले सेवा सुचारू गरेका भने होईनन्। सेवा निरन्तर राख्न हुवावे नेपालसहित नेपाल टेलिकम र एनसेलका प्राविधिक टोली (समाचाहरूमा आएका तस्बीरहरूमा रातो ज्याकेटमा देखिने) ले चौबिसै घण्टा काम गरिरहेका छन्। यस्तो अवस्थामा हुवावे नेपालले टेलिकम कम्पनीहरूसँगको समन्वयमा वैकल्पिक प्रविधि प्रयोग गर्दै सेवा पुनःस्थापना गरिरहेको छ।

७२ घण्टामा ३४ टावर र २० भन्दा बढी फाइबर लिंक सञ्चालन

बाढीपछि स्थापना गरिएको संयुक्त ‘वार रुम’मार्फत पछिल्लो ७२ घण्टामा ३४ ओटा टावर र २० भन्दा बढी फाइबर लिंक पुनः सञ्चालनमा ल्याइएको छ। पुनः सञ्चालनमा ल्याइएका टावरमा नेपाल टेलिकम र एनसेलका १० ओटा प्रमुख हब साइटसमेत रहेका छन्।

वैकल्पिक माइक्रोवेभ रि–रुटिङ तथा जेनेरेटरमार्फत विद्युत् आपूर्ति गरेर प्रमुख हब साइट सञ्चालनमा ल्याइएको हो।

यस अवधिमा १०० भन्दा बढी टावरमा नेटवर्क क्षमता तथा कभरेज अप्टिमाइजेसन गरिएको छ। त्यसबाट कल सेटअप सफलता दर (Call Setup Success Rate) ९७ प्रतिशतभन्दा माथि पुगेको जनाइएको छ।

हेलिकप्टरबाट जेनेरेटर र इन्धन ढुवानी

बाढी तथा पहिरोका कारण सडक सम्पर्क टुटेका र दुर्गम क्षेत्रमा रहेका टावरसम्म प्राविधिक टोली तथा आवश्यक उपकरण पुर्‍याउन हेलिकप्टर प्रयोग गरिएको छ।

हवाईमार्फत प्राविधिक टोलीसँगै माइक्रोवेभ उपकरण, १५ ओटा मोबाइल डिजेल जेनेरेटर (MDG), २० ओटा ब्याट्री बैंक र १० भन्दा बढी बीटीएस उपकरण प्रभावित क्षेत्रमा पुर्‍याइएको छ।

कतिपय स्थानमा विद्युत् आपूर्ति नहुँदा हेलिकप्टरमार्फत जेनेरेटर र पेट्रोलसमेत ढुवानी गरी सेवा सञ्चालनमा राख्ने प्रयास गरिएको छ। यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित टेलिकम कम्पनीबाट आवश्यक समन्वय तथा सहयोग भइरहेको छ।

फाइबरमा ठूलो क्षति, माइक्रोवेभबाट नेटवर्क चलाइँदै

बाढीका कारण २० भन्दा बढी फाइबर रुट पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। अप्टिकल फाइबरमा ठूलो क्षति भएपछि तत्काल सेवा सञ्चालनका लागि वैकल्पिक रूपमा माइक्रोवेभ प्रविधिबाट नेटवर्क प्रसारण भइरहेको छ।

कतिपय स्थानमा नेपाल विद्युत् प्राधिकरणको ट्रंक लाइनको समेत सहारा लिएर नेटवर्क सञ्चालनमा ल्याउने प्रयास गरिएको छ।

सडक सञ्जाल बिच्छेद भएका दुर्गम हिमाली क्षेत्रमा ३० भन्दा बढी टावरमा इन्धन तथा मर्मत सामग्री पुर्‍याउन समस्या रहेको जनाइएको छ। त्यसमाथि प्रभावित क्षेत्रमा १५० भन्दा बढी सेलमा नेटवर्क कन्जेसन अर्थात् अत्यधिक चाप परेकाले फोन सम्पर्कमा समेत कठिनाइ भएको थियो।

काठमाडौंमै बसेर भइरहेको छ २४ घण्टे नेटवर्क अनुगमन

हुवावे नेपालले काठमाडौंस्थित आफ्नो कार्यालयबाटै एनसेलको नेटवर्कको निरन्तर अनुगमन गरिरहेको छ। नेपाल टेलिकमको बबरमहलस्थित कार्यालयमार्फत नेपाल टेलिकमको सेवा तथा नेटवर्कको समेत निगरानी भइरहेको छ।

हुवावेले ठूलो संख्यामा दक्ष प्राविधिकको समूह परिचालन गरी दिनरात २४ सै घण्टा नेटवर्क मनिटरिङ गरिरहेको छ।

काठमाडौंमा रहेको कन्ट्रोल रुमबाट कुनै नेटवर्क वा बीटीएस टावरमा समस्या देखिएलगत्तै सम्बन्धित टेलिकम कम्पनीलाई स्वचालित रूपमा सूचना पठाइन्छ। त्यसपछि फिल्डमा परिचालित हुवावेका प्राविधिक टोलीले आवश्यक मर्मत तथा पुनःस्थापनाको काम तत्काल सुरु गर्ने व्यवस्था मिलाइएको छ।

यसरी सेवा सञ्चालनको अग्रभागमा नेपाल टेलिकम र एनसेल देखिए पनि उनीहरूले प्रयोग गरिरहेका नेटवर्क उपकरण तथा पूर्वाधारको प्राविधिक व्यवस्थापन, अनुगमन र समस्या समाधानमा हुवावे नेपालको ठूलो प्राविधिक टोली पर्दापछाडि सक्रिय रहेको छ।

२जीबाट प्राथमिक कनेक्टिभिटी, विद्युत् पुगेपछि ४जी

विपद्पछि हुवावे नेपालले सबैभन्दा पहिले २जीमा आधारित सेवा सञ्चालन गरेर धेरैभन्दा धेरै कनेक्टिभिटी सिर्जना गर्ने रणनीति अपनाएको छ।

विद्युत् आपूर्ति हुँदै गएका तथा आवश्यक पूर्वाधार पुनःस्थापना भएका स्थानमा क्रमशः ४जी सेवा समेत सञ्चालनमा ल्याउने काम भइरहेको छ।

यसले आपतकालीन अवस्थामा कम स्रोतबाट धेरै क्षेत्रमा आधारभूत मोबाइल सेवा पुर्‍याउन सहयोग गरेको प्राविधिक टोलीको भनाइ छ।

७५ भन्दा बढी टावर प्रभावित, ४४ अझै सञ्चालनमा आउन बाँकी

प्रारम्भिक विवरणअनुसार बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा नेपाल टेलिकम र एनसेलका ७५ भन्दा बढी सञ्चार टावर प्रभावित भएका थिए।

उपलब्ध विवरणअनुसार तीन जिल्लामा ७८ ओटा टावरको सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। जिल्लागत रूपमा नुवाकोटमा ४२, धादिङमा १९ र रसुवामा १७ ओटा टावर प्रभावित भएका थिए।

नेपाल टेलिकमका कुल १२० साइटमध्ये ५१ ओटा प्रभावित भएका थिए भने ५० ओटाको सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। एनसेलका कुल ७८ साइटमध्ये २७ ओटा प्रभावित भएका थिए।

हालसम्म ३४ ओटा टावर पुनः सञ्चालनमा ल्याइएपछि अझै ४४ ओटा टावर पुनःस्थापना गर्न बाँकी रहेका छन्। बाँकीमध्ये नेपाल टेलिकमका ३८ र एनसेलका ६ ओटा टावर रहेका छन्।

पहिलो चरणमा बाँकी ४४ मध्ये ३ ओटा टावरमा हेलिकप्टरबाट जेनेरेटर पुर्‍याउने र ९ ओटा टावरमा फाइबर लिंक जोडेर तत्काल सञ्चालनमा ल्याउने योजना बनाइएको छ।

केही टावरको निसाना नै भेटिएन

बाढीको वेगले कतिपय दूरसञ्चार संरचना पूर्ण रूपमा बगाएको छ। हुवावे नेपालका अनुसार ५ देखि ७ ओटा साइटको निसाना समेत फेला पार्न नसकिएको अवस्था छ। त्यस्ता स्थानमा पुरानो संरचना मर्मत गरेर सेवा सञ्चालन गर्न सम्भव नहुने भएकाले नयाँ नेटवर्क संरचना निर्माण गर्नुपर्ने अवस्था आएको छ।

कम्पनीले हाल विद्युत्का पोलमा समेत आफ्ना उपकरण जडान गरी अस्थायी रूपमा मोबाइल सेवा सञ्चालन गर्ने प्रयास गरिरहेको जनाएको छ।

‘सेवा सञ्चालन पहिलो प्राथमिकता’

प्राकृतिक विपद्का बेला सञ्चार सेवा सञ्चालन गर्नु पहिलो प्राथमिकता भएकाले हुवावे नेपालले यस कार्यका लागि सेवा प्रदायक कम्पनीसँग कुनै अतिरिक्त सेवा सुविधा माग नगरेको जनाएको छ।

कम्पनीका अनुसार विपद्का समयमा नागरिक, उद्धारकर्ता, सुरक्षाकर्मी तथा सरकारी संयन्त्रबीच सञ्चार सम्पर्क कायम राख्नु नै तत्कालको मुख्य उद्देश्य भएको कम्पनीको भनाई छ।

बाढीपछि उत्पन्न अवस्थालाई ध्यानमा राख्दै नेपाल टेलिकम, एनसेल र हुवावे नेपालको संयुक्त टोली तथा हुवावे मुख्यालयका प्राविधिक विज्ञ सम्मिलित ‘वार रुम’बाट सेवा पुनःस्थापना तथा नेटवर्क एस्युरेन्सको काम भइरहेको छ।

थप ५ फिल्ड टोली स्ट्यान्डबाइ

खतरा अझै नटरेको तथा बाँकी टावर सञ्चालनमा ल्याउन थप ५ ओटा फिल्ड टोलीमा २५ भन्दा बढी जनशक्ति परिचालनका लागि तयारी अवस्थामा राखिएको छ। साथै ५ ओटा मर्मत सवारी साधन स्ट्यान्डबाइमा राखिएको छ।

प्रभावित टावरहरूको २४ घण्टा अनुगमन गरी नेटवर्क कन्जेसन घटाउने र देखिएका समस्या सिंगनलको तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ।

विषम परिस्थितिमा फिल्डमा खटिएका प्राविधिकको स्वास्थ्य तथा सुरक्षालाई समेत प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ।

नेपालमा ड्रोन नेटवर्कलगायत प्रविधि अभाव

हुवावे नेपालका अनुसार विश्वका विभिन्न मुलुकमा प्राकृतिक विपद्का समयमा सञ्चार सेवा कायम राख्न ड्रोन नेटवर्कलगायतका वैकल्पिक प्रविधि प्रयोगमा छन्। तर त्यस्ता प्रविधि नेपालसँग उपलब्ध छैनन् र नेपालका टेलिकम कम्पनीले तत्काल त्यस्ता प्रविधि खरिद तथा सञ्चालन गर्न सक्ने अवस्था समेत नरहेको कम्पनीको भनाइ छ।

त्यसैले अहिले उपलब्ध प्रविधि र पूर्वाधारकै अधिकतम प्रयोग गरेर सेवा सञ्चालन भइरहेको छ। भविष्यमा यस्ता विपद्का समयमा तत्काल प्रयोग गर्न सकिने अत्याधुनिक सञ्चार प्रविधि सरकारले खरिद गरी तयारी अवस्थामा राखेमा आपतकालीन अवस्थामा सेवा पुनःस्थापना गर्न अझ सहज हुने हुवावे नेपालको धारणा छ।

बाढी तथा पहिरोका कारण विद्युत्, सडक, फाइबर र मोबाइल टावरमा एकैपटक क्षति पुगेको अवस्थामा पनि वैकल्पिक माइक्रोवेभ, जेनेरेटर, ब्याट्री बैंक, हवाई ढुवानी तथा २४ घण्टे नेटवर्क अनुगमनमार्फत दूरसञ्चार सेवा जोगाउने प्रयास जारी छ।


Read Previous

रसुवा र नुवाकोटको मौसम तथा बाढी जोखिमबारे सरोकारवालसंग मन्त्री श्रेष्ठले गरे छलफल

Read Next

चीन सरकारद्वारा प्रधानमन्त्री राहत कोषमा ३० करोडभन्दा बढी सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar