Nepal Purbadhar

चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन


नवलपरासी। भोटेकोशी-त्रिशूली बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी किनारमा बगेर आएका बेवारिसे शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ।

स्थायी तथा अस्थायी शवगृहको क्षमताभन्दा बढी शव फेला परेपछि अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्डअनुसार शवको वैज्ञानिक व्यवस्थापन सुरु गरिएको हो।

मध्यविन्दु प्रादेशिक अस्पतालमा राखिएका शवमध्ये डीएनए परीक्षणका लागि नमुना संकलन गरी संकेत नम्बर राखेर आवश्यक प्रक्रिया पूरा गरिएका २० ओटा शव आइतबार कावासोती नगरपालिका-३ स्थित ज्योतिकुञ्ज सामुदायिक वनमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीको सहयोगमा शव व्यवस्थापन गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार जमिनमुनि व्यवस्थापन गरिएका शव सुरक्षित रहनेछन्। पछि पहिचान खुलेमा आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई शव जिम्मा लगाइनेछ।

रसुवालगायत क्षेत्रमा आएको बाढीपहिरोपछि उद्धार तथा खोजीका क्रममा फेला परेका शवको पहिचान तथा डीएनए परीक्षण गैंडाकोट नगर अस्पताल र मध्यविन्दु प्रादेशिक अस्पतालमा भइरहेको छ।

गैंडाकोटदेखि विनयी त्रिवेणीसम्मको नारायणी नदी किनारमा हालसम्म १९४ ओटा शव फेला परेको जनाइएको छ। तीमध्ये ९ ओटा शवको पहिचान गरी आफन्तलाई बुझाइएको छ।

चितवनमा पनि यसअघि बाढीमा बगेर आएका पहिचान हुन नसकेका शवलाई डीएनए नमुना संकलन तथा आवश्यक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिएको थियो।

तस्बिर : धनु भुषाल/नेपाल फोटो लाइब्रेरी


Read Previous

प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन एनटीएले दियो २० थान स्याटेलाइट फोन

Read Next

नेपाल टेलिकमले बाढी प्रभावित थप ७ स्थानमा मोबाइल सेवा सुचारु गर्‍यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar