
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले रसुवा र नुवाकोटसहित देशका विभिन्न क्षेत्रमा देखिएको पछिल्लो मौसम तथा बाढीको सम्भावित जोखिमबारे सम्बन्धित अधिकारीसँग छलफल गरेका छन्।
मन्त्री श्रेष्ठले जल तथा मौसम विज्ञान विभाग तथा जल विज्ञान तथा स्रोत अनुसन्धान केन्द्रका अधिकारीसँग छलफल गर्दै विशेषगरी रसुवा र नुवाकोटको वर्तमान मौसम अवस्था, वर्षाको सम्भावना, नदी तथा खोलानालाको जलस्तर र बाढीको पूर्वानुमानबारे जानकारी लिएका हुन्।
छलफलका क्रममा जोखिमयुक्त क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई मौसमको अवस्थाअनुसार थप सुरक्षित र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
मौसम तथा जलविज्ञानसम्बन्धी अधिकारीहरूले तत्काल ठूलो जोखिमको अवस्था नरहे पनि जोखिम पूर्ण रूपमा टरिनसकेको जानकारी गराएका छन्। उनीहरूले उद्धार कार्यमा उच्च सतर्कता अपनाउन र मौसममा हुन सक्ने आकस्मिक परिवर्तनलाई निरन्तर निगरानीमा राख्न सुझाव दिएका छन्।
अधिकारीहरूका अनुसार मौसम, वर्षा र नदीको जलस्तरसम्बन्धी तथ्यांक निरन्तर विश्लेषण भइरहेको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि तल्लो तटीय तथा संवेदनशील क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै पूर्वसूचना दिने कामसमेत भइरहेको छ।
मन्त्री श्रेष्ठले मौसम तथा जलविज्ञानसम्बन्धी पूर्वसूचनालाई उद्धार तथा जोखिम व्यवस्थापनसँग प्रभावकारी रूपमा जोड्नुपर्नेमा जोड दिएका छन्। सम्भावित क्षति न्यूनीकरणका लागि सम्बन्धित सबै निकायबीच निरन्तर समन्वय आवश्यक रहेको उनले बताएका छन्।
