
काठमाडौं। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाबाट ८९७ जना कामदार, कर्मचारी तथा प्राविधिक सम्पर्कविहीन भएका छन्। आयोजनागत विवरणअनुसार रसुवाका जलविद्युत् आयोजनाबाट ७२९ जना र नुवाकोटका आयोजनाबाट १६८ जना सम्पर्कविहीन छन्।
सम्पर्कविहीनमध्ये सबैभन्दा ठूलो संख्या माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ५७६ जना रहेको छ। त्यसपछि नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली–३बीबाट १२२ जना र रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली–१ बाट मात्रै ५७६ जना सम्पर्कविहीन
रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाबाट सबैभन्दा बढी ५७६ जना सम्पर्कविहीन छन्। आयोजनाको सुरुङभित्र मात्रै करिब ३०० जना कामदार फसेको प्रारम्भिक अनुमान गरिएको छ।
सुरक्षित स्थानमा रहेका २५४ जनाको उद्धार भइसकेको भए पनि सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। सुरुङमा प्रवेश गरी खोजी तथा उद्धार गर्ने प्रयास जारी छ।
माथिल्लो त्रिशूली–३बीबाट १२२ जना
नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनाबाट १२२ जना सम्पर्कविहीन छन्। बाढी र पहिरोले आयोजनास्थलको भूगोल नै परिवर्तन गरिदिएका कारण आयोजनाका संरचना पहिचान गर्नसमेत कठिन भएको छ।
नेपाली सेना र चीनबाट आएका प्राविधिक टोलीले आयोजनास्थलमा खोजी तथा उद्धारको काम अघि बढाइरहेका छन्।
रसुवागढीबाट ९३ जना
१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना सम्पर्कविहीन छन्। भूमिगत डिसेन्डरमा फसेका ६ जनामध्ये ४ जना आफैं बाहिर निस्कन सफल भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। बाँकी व्यक्तिको खोजीका लागि उपकरणसहित उद्धार टोली पावरहाउस क्षेत्रमा परिचालित छ।
माथिल्लो त्रिशूली–३एमा ४२ जना
नुवाकोटस्थित ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनाबाट ४२ जना सम्पर्कविहीन छन्।
उद्धार टोली टनेल पोर्टलसम्म पुगिसकेको छ। पोर्टलको मुख सफा गरी अक्सिजन र क्यामरासहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ। पोर्टलबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित वर्किङ स्पेससम्म पुग्न सके सुरुङभित्र फसेकाहरूको वास्तविक अवस्था र स्थानबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
लाङटाङ खोलामा ४१ जना
परीक्षण चरणमा रहेको २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाबाट ४१ जना सुरुङभित्र सम्पर्कविहीन छन्। यसअघि १९ जनाको सकुशल उद्धार भइसकेको छ। सेनाको प्राविधिक टोलीले उपकरण प्रयोग गरेर सुरुङ खोल्ने प्रयास गरिरहेको छ।
अन्य आयोजनाबाट पनि सम्पर्कविहीन
चिलिमे जलविद्युत् आयोजनाबाट ८ जना, मैलुङ खोला आयोजनाबाट ७ जना र रसुवा–भोटेकोशी आयोजनाबाट ४ जना सम्पर्कविहीन छन्।
नुवाकोटतर्फ मिडल त्रिशूली गंगाबाट २ जना, त्रिशूली जलविद्युत् आयोजनाबाट १ जना र देवीघाट जलविद्युत् आयोजनाबाट १ जना सम्पर्कविहीन छन्। सौर्य विद्युत् आयोजनाबाट भने कुनै व्यक्ति सम्पर्कविहीन नरहेको विवरणमा उल्लेख छ।
६६९.७ मेगावाट क्षमताका १२ आयोजना प्रभावित
बाढीबाट रसुवा र नुवाकोटका १२ ओटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल उत्पादन क्षमता ६६९.७ मेगावाट रहेको छ।
रसुवामा मात्रै ६ ओटा आयोजना र ४९४ मेगावाट क्षमता प्रभावित भएको छ। नुवाकोटमा ६ ओटा आयोजना र १७५.७ मेगावाट क्षमता प्रभावित भएको छ।
प्रभावित १२ आयोजनामध्ये ८ ओटा सञ्चालनमा रहेका र ४ ओटा निर्माणाधीन छन्। लाङटाङ खोला आयोजना भने परीक्षण चरणमा रहेको छ।
बाढीले आयोजना क्षेत्रमा रहेका सुरुङ, पावरहाउस, इन्टेक, बाँध, पहुँचमार्ग तथा अन्य संरचनामा क्षति पुर्याएको छ। कतिपय क्षेत्रमा बाढी र पहिरोका कारण आयोजनाका संरचना पहिचान गर्नसमेत कठिन भएको छ।
हाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा आयोजनाका प्राविधिक टोलीको प्राथमिकता सम्पर्कविहीन व्यक्तिको खोजी र सुरुङभित्र फसेकाहरूको उद्धारमा केन्द्रित छ। चीन, भारतलगायत मुलुकबाट आएका प्राविधिक तथा उद्धार विशेषज्ञले पनि खोजी तथा उद्धार कार्यमा सहयोग गरिरहेका छन्।
Hydropower_Flood_Damage_and_Rescue_Report
