
काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप ७ ओटा बीटीएस साइट आजदेखि सञ्चालनमा ल्याएको छ। यससँगै बाढी प्रभावित क्षेत्रका अधिकांश मोबाइल बीटीएस साइट सञ्चालनमा आएको कम्पनीले जनाएको छ।
आज सञ्चालनमा आएका साइटमा रसुवा जिल्लाअन्तर्गत नेपाल-चीन सीमामा रहेको रसुवा बोर्डर, अपर सेन्जेन, छापथोके, जिपजिपे र गत्लाङ तथा नुवाकोटको चारघरे र चारघरे मुलाबारी बीटीएस साइट रहेका छन्।
रसुवा बोर्डर बीटीएस सञ्चालनमा आएसँगै नेपाल-चीन नाका, टिमुरे, रसुवा बोर्डर करिडोर तथा स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोरसम्म मोबाइल सेवा पुनः सञ्चालन भएको छ।
त्यस्तै, अपर सेन्जेन साइटबाट चिलिमे, लामागाउँ र आमाछोङदिमो गाउँपालिका-५ लगायतका क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुनेछ।
छापथोके साइटबाट बेत्रावती, काउली, त्रिशूली-३ ‘बी’, उत्तरगया गाउँपालिका र किस्पाङ क्षेत्रमा सेवा उपलब्ध भएको छ।
जिपजिपे साइटबाट कालिका गाउँपालिका-२ र ५, धारापानी तथा देउरालीडाँडामा मोबाइल सेवा सुचारु भएको नेपाल टेलिकमले जनाएको छ।
त्यसैगरी, गत्लाङ बीटीएस सञ्चालनमा आएपछि गत्लाङ, गोल्जुङ, चिलिमे, ठूलो भार्खु, शेर्पागाउँ, ठूलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा उपलब्ध हुनेछ।
नुवाकोटका चारघरे तथा चारघरे मुलाबारी बीटीएस साइटबाट विदुर नगरपालिका-१२ र १३ मा मोबाइल सेवा सुचारु भएको छ।
बाढीका कारण प्रभावित भएका दूरसञ्चार संरचना मर्मत तथा पुनः सञ्चालनका लागि नेपाल टेलिकमका प्राविधिक कर्मचारी निरन्तर खटिरहेको कम्पनीले जनाएको छ। विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा सुनिश्चितताका लागि निरन्तर काम भइरहेको टेलिकमले जनाएको छ।
