
सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सात सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग, शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन आग्रह
काठमाडौं। नेपाल बैङ्क लिमिटेड धुञ्चे शाखाले सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रसुवाका दुर्गम क्षेत्रका सात सामुदायिक विद्यालयमा अध्ययनरत ९२ जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
शाखा प्रबन्धक कृष्ण तामाङका अनुसार दुर्गम क्षेत्रका विद्यार्थीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। बैङ्कले भीमली आधारभूत विद्यालय, पार्वतीकुण्ड आधारभूत विद्यालय (गतलाङ), गोसाइँकुण्ड आधारभूत विद्यालय (आमाछोदिङ्मो), कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालय (स्याफ्रुबेँसी), लिङलिङ प्राथमिक विद्यालय तथा रसुवा माध्यमिक विद्यालय (धुञ्चे) लगायतका विद्यालयका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री उपलब्ध गराएको जनाएको छ।
कार्यक्रममा विद्यालयका तर्फबाट कोमिन श्यामे वाङ्फेल माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोरकुमार पुरकोटीले बैङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रमले हिमाली तथा दुर्गम क्षेत्रका विद्यार्थीलाई प्रोत्साहन मिलेको बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि शिक्षा क्षेत्रमा केन्द्रित गर्न आग्रह गरे।
नेपाल बैङ्कका अनुसार २०३३ सालदेखि रसुवाको धुञ्चेमा सेवा सञ्चालन गर्दै आएको शाखाले हाल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अधिकांश बैंकिङ सेवा पाँच मिनेटभित्र सम्पन्न गर्ने व्यवस्था मिलाएको छ।
धुञ्चे शाखाअन्तर्गत करिब १३ हजार निक्षेपकर्ता, ६०० भन्दा बढी कर्जा ग्राहक र पाँच हजारभन्दा बढी अन्य ग्राहक रहेका छन्। शाखाले जिल्लाका विभिन्न १७ वटा बैंक तथा वित्तीय संस्थालाई नगद आपूर्ति गर्ने, सरकारी कार्यालयको भुक्तानी व्यवस्थापन गर्ने तथा राजस्व सङ्कलनको जिम्मेवारीसमेत निर्वाह गर्दै आएको जनाएको छ।
