Nepal Purbadhar

त्रिपुरेश्वरमा आगो लगाएर गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु


काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आगो लगाएर गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौं प्रहरी परिसरले नेपालीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन्। यद्यपि, वीर अस्पतालले भने यसबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन।

बिहीबार नेपालीले राहदानी विभाग अगाडि पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण अंगमा गम्भीर क्षति पुर्‍याएको थियो। अस्पताल ल्याइएलगत्तै श्वासप्रश्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।

उनको उपचारमा डा. पियूष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो।

घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


Read Previous

माकलबारीमा ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट, एक जनाको ज्यान गयो

Read Next

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar