
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर विस्फोट हुँदा एक पैदलयात्रीको ज्यान गएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:२० बजे माकलबारीस्थित सडकमा सिन्धुपाल्चोकतर्फ जाँदै गरेको सवारीसाधनमा राखिएका अक्सिजन ग्यास सिलिन्डर र फायर एक्स्टिङ्ग्विसर अचानक विस्फोट भएका हुन्।
बा.प्र.०६–००१ झ ००१७ नम्बरको गाडी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ निवासी ४२ वर्षीय कृष्ण अधिकारीले चलाइरहेका थिए। उक्त गाडीमा पनौतीस्थित नवज्योति अक्सिजनबाट ल्याइएका फायर एक्स्टिङ्ग्विसर तथा अक्सिजन सिलिन्डर राखिएको थियो। साथै, नेपाल मेडिकल कलेज पछाडि रहेको पञ्चकुमारी फार्मेसीबाट औषधि समेत लोड गरी पाँचपोखरी प्राथमिक अस्पतालतर्फ लैजाँदै गर्दा माकलबारी पुगेपछि दुई वटा फायर एक्स्टिङ्ग्विसर र एउटा सानो अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ।
विस्फोटका कारण सडकमा पैदल हिँडिरहेका बागलुङ घर भई हाल गोकर्णेश्वर नगरपालिका–८ माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
