
चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका पहिचान नखुलेका १९९ ओटा शवको व्यवस्थापन गरिएको छ।
भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गलमा आइतबार रातिसम्म ती शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार चितवनमा हालसम्म २७२ ओटा शव फेला परेका छन्। तीमध्ये १९९ ओटाको व्यवस्थापन गरिएको छ भने १२ ओटाको सनाखत भएको छ। सनाखत भएका शव परीक्षणपछि परिवारलाई बुझाइएको छ।
पहिचान खुल्न नसकेका शव व्यवस्थापन गर्दा डिएनए नमूना सुरक्षित राखिएको प्रहरीले जनाएको छ। भविष्यमा बेपत्ता व्यक्तिका परिवारसँग गरिएको डिएनए परीक्षण मिलेको अवस्थामा व्यवस्थापन गरिएको स्थानबाट शव हस्तान्तरण गर्न सकिने गरी प्रत्येक शवको स्थानमा सङ्केत चिह्न राखिएको छ।
हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, ७ बालक, ६ बालिका र ८७ ओटा अन्य अर्थात् अवशेष रहेका छन्।
नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।
