
मुस्ताङ। रसुवागढी–केरुङ नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि चीनबाट आयात हुने मालवस्तु तथा मालवाहक कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन्।
रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट मालवस्तु भित्र्याउने कन्टेनरको सङ्ख्या बढ्दै गएको सशस्त्र प्रहरीको जोमसोमस्थित चेकपोस्टले जनाएको छ। आइतबार साँझ मात्रै चेकपोस्टले ६६ ओटा मालवाहक कन्टेनरको विवरण सङ्कलन गरेको थियो।
कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तु कोरलानाकातर्फ ‘डाइभर्ट’ भएकाले आफूहरू मालसामान ढुवानीका लागि मुस्ताङतर्फ गएको बताए।
सरकारले कोरलानाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा ल्याएपछि यसको व्यापारिक गतिविधि बढ्दै गएको छ। कोरलास्थित मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै भन्सार कार्यालयले २९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
मुस्ताङ भन्सार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि हाल १२ जना मात्रै कर्मचारी कार्यरत रहेको भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए।
रसुवागढी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि कोरलानाका वैकल्पिक मार्गका रूपमा थप सक्रिय हुन थालेको छ। कन्टेनरको चाप बढ्दै गएसँगै कोरलानाकाको भन्सार तथा सडक पूर्वाधारमा समेत थप व्यवस्थापन आवश्यक देखिएको छ।
