Nepal Purbadhar

अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी


काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रालयको अनुमति नलिई ए-लेभल, सीबीएसई, आईबीडीपीलगायत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थामाथि कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेपछि मन्त्रालयले यसको कार्यान्वयनमा कडाइ थालेको हो। नियमावली विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा प्रभावकारी नियमन गर्ने उद्देश्यले ल्याइएको मन्त्रालयले जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्णचन्द्र पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको पाइएकाले कानुनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताए।

मन्त्रालयले अनुमति नलिई यस्ता कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भए तीन दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना उपलब्ध गराउन सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।

मन्त्रालयका अनुसार नयाँ नियमावलीसँगै नेपालमा विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने शैक्षिक कार्यक्रमका लागि नयाँ मापदण्ड लागू हुनेछ। यसबाट उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक कार्यक्रमको प्रभावकारी नियमन तथा विद्यार्थीको हित संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

त्रिपुरेश्वरमा आगो लगाएर गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar