
बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेड।
बर्दिया। नेपालको निर्माण सामग्री उद्योगमा स्वदेशी उत्पादनलाई सुदृढ बनाउने लक्ष्यसहित उत्पादन भइरहेको लामिनार टायल्स आयातित उत्पादनको विकल्पका रूपमा स्थापित हुँदै गएको छ। बर्दियास्थित लुम्बिनी सेरामिक्स लिमिटेडले उत्पादन गर्दै आएको लामिनारले स्वदेशी औद्योगिक क्षमता विस्तारसँगै आयात प्रतिस्थापनमा समेत योगदान पुर्याइरहेको कम्पनीको दाबी छ।
बर्दियाको गुलरिया नगरपालिकामा १२.५ बिघा क्षेत्रफलमा रहेको अत्याधुनिक उत्पादन केन्द्रबाट कम्पनीले दैनिक एक लाख ४० हजार वर्गफिटभन्दा बढी टायल उत्पादन गर्दै आएको जनाएको छ। आधुनिक प्रविधि, कडा गुणस्तर परीक्षण र उच्च उत्पादन क्षमताका कारण नेपाली बजारमा स्वदेशी टायलप्रतिको विश्वास बढ्दै गएको कम्पनीको भनाइ छ।

कम्पनीका निर्देशक आशुतोष खेतानका अनुसार कच्चा पदार्थको तयारीदेखि प्रेसिङ, ग्लेजिङ, डिजिटल प्रिन्टिङ, उच्च तापक्रममा फायरिङ, गुणस्तर परीक्षण, कटिङ र प्याकेजिङसम्मका सम्पूर्ण प्रक्रिया एउटै परिसरभित्र सञ्चालन हुने भएकाले उत्पादनको गुणस्तर र एकरूपता सुनिश्चित गरिएको छ।

कम्पनीले हाल ४०० भन्दा बढी डिजाइनका टायल उत्पादन गर्दै आएको छ। आवासीय भवन, होटल, अस्पताल, शैक्षिक संस्था, व्यावसायिक भवन तथा बाह्य क्षेत्रमा प्रयोग गर्न मिल्ने विभिन्न प्रकारका टायल बजारमा उपलब्ध छन्।
उत्पादनहरू काठमाडौंको उत्तरढोकास्थित लामिनार एक्सपेरियन्स सेन्टर तथा देशभर रहेका १६० भन्दा बढी आधिकारिक डिलरमार्फत बिक्री तथा अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

राष्ट्रिय मापदण्डअनुसार गुणस्तर
कम्पनीका अनुसार लामिनार टायल्सले नेपाल स्ट्यान्डर्ड (एनएस ६१७:२०८२) प्रमाणपत्र प्राप्त गरिसकेको छ। टायलको पानी सोस्ने क्षमता ०.०८ प्रतिशत वा सोभन्दा कम भएकाले यो पूर्ण रूपमा भिट्रिफाइड टायल्सको श्रेणीमा पर्ने कम्पनीको दाबी छ।
उद्योगको आफ्नै प्रयोगशालामा जल अवशोषण, घर्षण प्रतिरोध, मोड्ने तथा भाँचिने क्षमता, चिप्लिन प्रतिरोध, सतहको कठोरता, रासायनिक तथा दाग प्रतिरोध, आयामीय शुद्धता र सतहको एकरूपतालगायतका परीक्षण नियमित रूपमा गरिँदै आएको कम्पनीले जनाएको छ।

ठूला परियोजनामा प्रयोग
गुणस्तरका आधारमा लामिनार टायल्स विभिन्न ठूला परियोजनामा प्रयोग भइरहेको कम्पनीले जनाएको छ। नेपाल आर्मी डिफेन्स युनिभर्सिटी, नेपाल आर्मी छाउनी अस्पताल, नोर्भिक इन्टरनेशनल अस्पताल, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, रोयल टुलिप होटल काठमाडौं, द प्लाजा ललितपुर, द सोल्टी होटल, कुमारी बैंकको कर्पोरेट कार्यालय, भरतपुर महानगरपालिका भवन, भाटभटेनी सुपरमार्केट तथा सिभिल होम्सलगायतका परियोजनामा यसको प्रयोग भएको कम्पनीको भनाइ छ।

निर्यात र प्राविधिक तालिममा जोड
स्वदेशी बजारसँगै कम्पनीले भारतको उत्तर प्रदेशलगायतका चयनित अन्तर्राष्ट्रिय बजारमा पनि टायल निर्यात सुरु गरेको जनाएको छ। यसलाई नेपाली टायल उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
कम्पनीले काठमाडौंको उत्तरढोकामा स्थापना गरेको लामिनार एक्सपेरियन्स सेन्टरमार्फत वास्तुविद्, इन्टेरियर डिजाइनर, परियोजना विकासकर्ता, डिलर तथा उपभोक्तालाई उत्पादनसम्बन्धी जानकारी र प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ।

यस्तै, ‘सारथी’ नामक मिस्त्री क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत सन् २०२६ सम्म देशका ४८ स्थानमा तालिम तथा पुनर्ताजगी कार्यक्रम सञ्चालन गरी १ हजार ३५५ जना मिस्त्रीलाई तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले ग्राहक, ठेकेदार र मिस्त्रीलाई साइटमै पुगेर टायल जडान, सतह तयारी, उपयुक्त टायल एड्हेसिभ छनोट, जोइन्ट स्पेसिङ तथा ठूलो आकारका टायल सुरक्षित रूपमा जडान गर्ने विषयमा प्राविधिक परामर्शसमेत उपलब्ध गराउँदै आएको छ।
लुम्बिनी सेरामिक्सले दीर्घकालीन रूपमा लामिनारलाई दक्षिण एशियाको विश्वासिलो टायल ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार उत्पादन प्रणाली, गुणस्तर नियन्त्रण र जिम्मेवार औद्योगिक अभ्यासमा निरन्तर लगानी गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा ध्यान केन्द्रित गरिएको छ।

