
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रको वर्षौँदेखि उठ्न नसकेको ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँभन्दा बढी भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार मन्त्री यादवले लामो समयदेखि भाडा नतिरी बसेका उद्योग तथा कार्यालयबाट बक्यौता तत्काल असुल गर्न निर्देशन दिएपछि रकम सङ्कलनमा उल्लेख्य प्रगति भएको हो।
लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार केही उद्योगले वि.सं. २०४५ सालदेखि नै भाडा बक्यौता राख्दै आएका थिए। केही दिनअघि ६ सय ३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गर्दै बक्यौता रकम तोकिएको समयभित्र बुझाउन आग्रह गरिएको थियो। त्यसपछि अधिकांश उद्योगले धमाधम बक्यौता चुक्ता गरेका छन्।
भाडा नतिर्ने उद्योगविरुद्ध थप कडा कदम चाल्दै लिमिटेडले विद्युत् लाइन काट्ने प्रक्रिया पनि अघि बढाएको छ। प्रारम्भिक चरणमा दुई सयभन्दा बढी उद्योगको विद्युत् आपूर्ति बन्द गरिएको थियो। त्यसपछि धेरै उद्योगले बक्यौता बुझाएपछि उनीहरूको लाइन पुनः जोडिएको छ।
हालसम्म पनि भाडा नतिरेका ४५ वटा उद्योगको विद्युत् लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए। उनका अनुसार मन्त्री यादवले बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म ती उद्योगको विद्युत् आपूर्ति पुनः सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएकी छन्।
लिमिटेडका अनुसार सबैभन्दा बढी बक्यौता राख्ने उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब तीन करोड ६९ लाख रुपैयाँ र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब एक करोड रुपैयाँ भाडा उठ्न बाँकी छ। यी दुवै उद्योगको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको जनाएको छ।
महाप्रबन्धक ओलीले भाडा असुलीमा विभिन्न दबाब र प्रभावका प्रयास भए पनि मन्त्री यादवको स्पष्ट निर्देशनका कारण छोटो अवधिमै उल्लेख्य बक्यौता उठाउन सफल भएको बताए।
