Nepal Purbadhar

बर्डफ्लु सङ्क्रमण फैलिँदै, काभ्रेमा ४० हजारभन्दा बढी हाँस-कुखुरा नष्ट


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकका विभिन्न पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि हालसम्म ४० हजारभन्दा बढी हाँस तथा लेयर्स जातका कुखुरा नष्ट गरिएको छ।

जिल्ला पशु सेवा कार्यालय धुलिखेलका अनुसार केही हप्तायता बर्डफ्लुका कारण व्यावसायिक रूपमा पालिएका कुखुरा धमाधम मर्न थालेपछि सङ्क्रमण नियन्त्रणका लागि ४० हजार ७२९ वटा हाँस तथा कुखुरा नष्ट गरिएको हो।

कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. बज्रकिशोर ठाकुरका अनुसार बनेपा नगरपालिका-६ र १३ तथा पनौती नगरपालिका-७, ८ र ९ का केही पोल्ट्री फार्ममा बर्डफ्लु सङ्क्रमण देखिएको छ। प्रारम्भिक अनुसन्धानबाट मरेका हाँस तथा कुखुरालाई खोला, झाडी र अन्य खुला स्थानमा जथाभावी फाल्ने प्रवृत्तिका कारण काग तथा अन्य जङ्गली चरामार्फत सङ्क्रमण थप फैलिएको निष्कर्ष निकालिएको उनले बताए।

उनका अनुसार सङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रका पोल्ट्री फार्ममा परीक्षण, व्यवस्थापन तथा कुखुरा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको छ।

प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुने समस्याका कारण प्रदेश र स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमण फैलिने दर बढेको कार्यालयको भनाइ छ।

डा. ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायोसेक्युरिटीका मापदण्ड कडाइका साथ लागू गर्नुपर्नेमा जोड दिएका छन्। उनले कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाका उपाय अपनाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसारपसार गर्दा सरसफाइका सबै मापदण्ड पालना गर्न किसानलाई आग्रह गरेका छन्।

यसैबीच, जिल्लाको नाला, रोशी र खावा चेकपोस्टमा परीक्षणबिना तथा अवैध रूपमा कुखुरा ओसारपसार हुन नदिन निगरानी र नियन्त्रण कडा पारिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ।

यसअघि गत चैतमा देशका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि काभ्रे र सिन्धुपाल्चोकमा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउने निर्णय गरिएको थियो। त्यसयता सङ्क्रमण रोकथामका लागि निगरानी, परीक्षण र जैविक सुरक्षा सम्बन्धी मापदण्ड कार्यान्वयनलाई प्राथमिकता दिइएको छ।


Read Previous

चक्रपथ: काठमाडौं खण्ड धुलाम्मे र हिलाम्मे, ललितपुरतर्फ हरियालीको आकर्षण

Read Next

उपत्यकामा २४ घण्टामा एक हजार ५९२ सवारीसाधन कारबाही, २० लाखभन्दा बढी राजस्व संकलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar