Nepal Purbadhar

चक्रपथ: काठमाडौं खण्ड धुलाम्मे र हिलाम्मे, ललितपुरतर्फ हरियालीको आकर्षण


काठमाडौं। काठमाडौं उपत्यकामा चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माण लामो समयदेखि ढिलाइ हुँदा राजधानीका धेरै स्थान धुलाम्मे, हिलाम्मे र अव्यवस्थित बनेका छन्। निर्माण सामग्रीको थुप्रो, धुलोधुवाँ र अस्तव्यस्त सडकका कारण सर्वसाधारणले दैनिक सास्ती खेपिरहेका बेला चक्रपथअन्तर्गतको कोटेश्वर–कलंकी सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ।

करिब सात वर्षअघि ललितपुर महानगरपालिका र विभिन्न सरोकारवाला निकायको सहकार्यमा सडक किनारमा रोपिएका वृक्षहरू अहिले बाक्लिएपछि सानेपा क्षेत्र हराभरा बनेको हो। सडकका दुवैतर्फ फैलिएका वृक्षहरूले सहरको सौन्दर्य बढाउनुका साथै वातावरणलाई स्वच्छ बनाउन पनि योगदान पुर्‍याइरहेका छन्।

गर्मी बढिरहेका बेला घना वृक्षहरूले शीतलता प्रदान गरेपछि स्थानीय बासिन्दा, पैदलयात्री र यात्रुहरू केहीबेर सडक किनारमै विश्राम गर्ने गरेका छन्। व्यस्त चक्रपथमा फैलिएको हरियालीले सवारी आवागमन हुने क्षेत्रलाई पनि थप आकर्षक बनाएको छ।

ललितपुर महानगरपालिकाले हरित सहर निर्माणलाई प्राथमिकतामा राखेर सडक किनार, नदी उकास क्षेत्र तथा भूक्षयको जोखिम रहेका स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। महानगरले दीर्घकालीन रूपमा हरियाली विस्तार गरी वातावरण संरक्षणलाई प्रभावकारी बनाउने नीति अवलम्बन गरेको छ।

महानगरका अनुसार निजी क्षेत्रको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पनि तोकिएका प्रजातिका बिरुवा रोप्ने र संरक्षण गर्ने व्यवस्था गरिएको छ। काठमाडौं उपत्यकाको बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि ‘स्वच्छ हावा परियोजना’ लगायत विभिन्न कार्यक्रममार्फत सरोकारवाला निकायसँग समन्वय गरी हरियाली विस्तारको अभियानलाई निरन्तरता दिइएको छ।

चक्रपथ विस्तारको ढिलाइले राजधानीका अधिकांश क्षेत्रको शहरी स्वरूप प्रभावित बनेको अवस्थामा सानेपाको हरियालीले योजनाबद्ध वृक्षारोपण र संरक्षणले शहरी वातावरणलाई स्वच्छ, सुन्दर र बस्नयोग्य बनाउन सकिने उदाहरण प्रस्तुत गरेको छ।


Read Previous

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

Read Next

बर्डफ्लु सङ्क्रमण फैलिँदै, काभ्रेमा ४० हजारभन्दा बढी हाँस-कुखुरा नष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar