
काठमाडौं। सरकारले सरकारी अस्पतालहरूको सेवा प्रवाह, व्यवस्थापन तथा गुणस्तर सुधारको अवस्थाबारे अनुगमनलाई तीव्र पारिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल सुधार कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले प्रमुख सरकारी अस्पतालहरूमा नियमित स्थलगत निरीक्षण सुरु गरेको जनाएको छ।
मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा सोमबार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्थलगत अनुगमन गरिएको हो। अनुगमन टोलीले अस्पतालहरूले प्रदान गरिरहेका स्वास्थ्य सेवा, सेवाग्राहीमैत्री व्यवस्था, भीड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय अवस्थाको मूल्यांकन गरेको मन्त्रालयले जनाएको छ।
अनुगमनका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सञ्चालनमा रहेको सुलभ फार्मेसी प्रभावकारी देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार उक्त फार्मेसीमार्फत सेवाग्राहीले गुणस्तरीय औषधि सहज र सस्तो मूल्यमा प्राप्त गरिरहेका छन्।
मन्त्री निशा मेहताको निर्देशनअनुसार राष्ट्रिय ट्रमा सेन्टरले सोमबारदेखि नै सुलभ फार्मेसी सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ भने वीर अस्पतालमा पनि यही हप्ताभित्र सुलभ फार्मेसी सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ। यसबाट सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीको औषधि खर्च कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अनुगमनका क्रममा अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवाको प्रभावकारिता, बिरामीको भीड व्यवस्थापन, सरसफाइ तथा सेवा प्रवाहको अवस्थाबारे समेत विस्तृत समीक्षा गरिएको थियो। देखिएका कमजोरी तत्काल सुधार गर्न सम्बन्धित अस्पताल प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
वीर अस्पतालले केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक पूर्वाधार तथा सेवा सुधारका काम अघि बढाएको पनि अनुगमनका क्रममा पाइएको छ। बर्न उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई विशेष तालिम प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै, सेवाग्राहीको चाप व्यवस्थापनलाई प्रभावकारी बनाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा काउन्टरको संख्या तीनबाट पाँच पुर्याइएको छ। अस्पतालमा क्युआर (क्यूआर) प्रणालीमार्फत औषधिको उपलब्धताबारे सेवाग्राहीले तत्काल जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पनि क्यूआर प्रणालीमार्फत बिरामीले आफ्ना स्वास्थ्य परीक्षणको रिपोर्ट सहज रूपमा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। यसबाट सेवाग्राहीले लाइनमा लामो समय कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार अस्पतालमा कार्यरत कर्मचारीको सेवामूलक व्यवहार सुधार गर्न सबै सरकारी अस्पतालमा ‘सफ्ट स्किल’ तालिम सञ्चालन भइरहेको छ। बिरामीप्रति जिम्मेवार, शिष्ट र सेवाग्राहीमैत्री व्यवहार विकास गर्ने उद्देश्यले यस्तो तालिमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको हो।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सरकारी अस्पतालहरूको सेवा गुणस्तरमा सुधार, सेवाग्राहीमैत्री वातावरण निर्माण तथा आम नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यस्ता अनुगमन तथा सुधार कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ। मन्त्री मेहताले सरकारी अस्पतालहरूलाई परिणाममुखी, पारदर्शी र नागरिकको विश्वास जित्ने संस्थाका रूपमा विकास गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

