
एआईद्वारा जेनेरेट सांकेतिक तस्बीर।
काठमाडौं। ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजारको अनुगमन तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर बजार अनुगमन सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
औषधि व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यका तथा बनेपाका विभिन्न क्षेत्रमा गरिएको अनुगमनका क्रममा जम्मा ६६ वटा फार्मेसीको निरीक्षण गरिएको छ। महाराजगञ्ज क्षेत्रमा १५, वीर अस्पताल तथा चाबहिल आसपास १८, पाटन–जावलाखेल क्षेत्रमा ११, बसपार्क–बालाजु क्षेत्रमा १४ तथा बनेपामा ८ वटा औषधि पसलको अनुगमन गरिएको विभागले जनाएको छ।
अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक २१ थान नक्कली औषधि बरामद गरिएको छ। विभागले उक्त औषधि पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
यस्तै, नवीकरण नगरी सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री–वितरण गरिरहेका तथा सरसफाइ र तोकिएका मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजारमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागका अनुसार बजार अनुगमन आगामी केही दिनसम्म निरन्तर जारी रहनेछ। यस अभियानबाट सेवाग्राहीले गुणस्तरीय र सुरक्षित औषधि प्राप्त गर्न सहज हुने तथा अवैध र नक्कली औषधिको कारोबार नियन्त्रणमा प्रभावकारी सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री निशा मेहताले नक्कली औषधिको उत्पादन, भण्डारण, आपूर्ति तथा बिक्री–वितरणमा संलग्न व्यक्ति, संस्था र उत्पादकको पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएकी छन्।
विभागले सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक तथा दर्ता भएका फार्मेसीबाट मात्र औषधि खरिद गर्न, औषधिको प्याकेजिङ (बाहिरी आवरण), म्याद र विवरण राम्रोसँग जाँच्न तथा कुनै शंका लागेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।

