Nepal Purbadhar

९ मेगावाटको खिम्ती–ध्वाङ् जलविद्युत् आयोजना २०८४ चैतसम्म पूरा हुने‍,आइपिओ ल्याउँदै


काठमाडौं । वन्डर्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ९ मेगावाट क्षमताको खिम्ती–ध्वाङ् साना जलविद्युत् आयोजनाको निर्माण कार्य २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ।

कम्पनीको वार्षिक साधारणसभामा आयोजनाको पछिल्लो प्रगति सार्वजनिक गर्दै आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानसम्बन्धी अनुमति मन्त्रिपरिषद्बाट वैशाख १५ गते नै स्वीकृत भइसकेकाले निर्माण प्रक्रियाले थप गति लिने विश्वास व्यक्त गरिएको हो।

कम्पनीका अनुसार आयोजनाको अनुमानित लागत करिब १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यसमध्ये १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानीका लागि एनएमबी बैंकसँग वित्तीय व्यवस्थापनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

स्वपुँजीतर्फ आवश्यक ६५ करोड रुपैयाँमध्ये ३५ करोड रुपैयाँ संकलन भइसकेको कम्पनीले जनाएको छ। बाँकी ३० करोड रुपैयाँ चालु वर्षको असोज महिनाभित्र जुटाउने तयारी गरिएको छ।

कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलालले वित्तीय स्रोत व्यवस्थापन र आयोजनाको निर्माण कार्यलाई समानान्तर रूपमा अघि बढाइएको जानकारी दिए।

यसैबीच, साधारणसभाले कम्पनीको चुक्ता पुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव अनुमोदन गरेको छ। स्वीकृत योजनाअनुसार ७० करोड रुपैयाँ संस्थापक तथा स्वपुँजीबाट र बाँकी ३० करोड रुपैयाँ प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत संकलन गरिनेछ।

सभाले आयोजनाको बैंक ऋण व्यवस्थापन तथा आवश्यक वित्तीय प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकारसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।


Read Previous

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित

Read Next

नक्कली औषधि फेला परेपछि बजार अनुगमन तीव्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar