
ललितपुर। अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा नयाँ मल्टि-ब्रान्ड शोरूम सञ्चालनमा ल्याएका छन्। नयाँ शोरूममार्फत अब ललितपुरका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा बिक्रीपछिको सेवा स्थानीयस्तरमै प्राप्त गर्न सक्ने भएका छन्।
कुमारीपाटीको सहज पहुँच भएको स्थानमा सञ्चालनमा आएको शोरूमले बिक्री, सर्भिस र स्पेयर्स (३एस) सेवा एउटै स्थानबाट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यससँगै ट्रायम्फको नेपालमा शोरूम संख्या सात पुगेको छ भने आगामी दिनमा अन्य स्थानमा पनि विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

नयाँ शोरूमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरीका डीएसपी सुनीलजंग शाहले संयुक्त रूपमा गरेका थिए।
कम्पनीका अनुसार नयाँ शोरूममा ट्रायम्फका प्रिमियम बेलायती मोटरसाइकल र केटीएमका विभिन्न लोकप्रिय मोडेल एउटै छानामुनि अवलोकन तथा खरिद गर्न सकिनेछ। ग्राहकलाई मोटरसाइकल खरिददेखि बिक्रीपछिको सेवा, मर्मत तथा जेन्युइन स्पेयर्स उपलब्ध गराउने उद्देश्यले शोरूम सञ्चालनमा ल्याइएको हो।

कार्यक्रममा बाइकर्स डिपोका सञ्चालक सतीश श्रेष्ठले ललितपुरका मोटरसाइकल पारखीलाई अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्ने लक्ष्यका साथ नयाँ शोरूम सञ्चालनमा ल्याइएको बताए। उनले बिक्री, सर्भिस र स्पेयर्सको सम्पूर्ण सुविधा एउटै स्थानमा उपलब्ध गराएर उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ललितपुरमा नयाँ शोरूम सञ्चालनमा आउनु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउँदै देशभरका मोटरसाइकल पारखीलाई विश्वस्तरीय सेवा र प्रिमियम राइडिङ अनुभव सहज रूपमा उपलब्ध गराउने अभियानलाई यसले थप मजबुत बनाउने बताए।

कम्पनीका अनुसार यस विस्तारसँगै ट्रायम्फ र केटीएमले नेपालभर आफ्ना ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै गुणस्तरीय सेवा, सहज पहुँच र विश्वसनीय बिक्रीपछिको सेवामा प्राथमिकता दिनेछन्। बाइकर्स डिपो ललितपुरका लागि ट्रायम्फ र केटीएमको आधिकारिक शोरूम साझेदारका रूपमा रहनेछ।

