Nepal Purbadhar

विपद् व्यवस्थापनमा पूर्वतयारीमा जोड, हेलिकप्टर दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा परम्परागत कार्यशैली परिवर्तन गर्दै पूर्वतयारीलाई प्राथमिकता दिन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित विशेष बैठकमा उनले विपद् आइसकेपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्तिले अपेक्षित नतिजा दिन नसकेको भन्दै समयमै तयारी गर्नुपर्नेमा जोड दिए।

बैठकमा गृहमन्त्री गुरुङले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिम रहेका क्षेत्रमा सम्बन्धित निकायहरूलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिँदै सबै निकायले एकीकृत रूपमा काम गरेमा मानवीय क्षति न्यून गर्न सकिने बताए। उनले विपद्का कारण कसैले पनि ज्यान गुमाउन नपर्ने अवस्था सिर्जना गर्न आवश्यक तयारी र समन्वय गर्न आग्रह गरे।

गृहमन्त्री गुरुङले विगतमा विपद् प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकप्टरको दुरुपयोग भएको टिप्पणी गर्दै वर्तमान सरकारका मन्त्रीहरूले अनावश्यक रूपमा हेलिकप्टर प्रयोग नगर्ने बताए। आफूले पनि हेलिकप्टर चढेर राज्यको सम्पत्तिको दुरुपयोग नगर्ने उल्लेख गर्दै उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले विपद्को बहानामा हेलिकप्टर प्रयोग गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने जानकारी दिए।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूका साथै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो।


Read Previous

ई–पासपोर्ट खरिद प्रकरण : पूर्वपरराष्ट्रमन्त्री आरजु राणालाई अख्तियारको बयान बोलायो

Read Next

ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य : मन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar