
काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनियमितताको आरोपमा भइरहेको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई बयानका लागि बोलाएको छ।
आयोगले राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा उनको भूमिकाबारे जानकारी लिन आवश्यक देखिएको भन्दै प्रारम्भिक अनुसन्धानका लागि उपस्थित हुन सूचना जारी गरेको जनाएको छ।
अख्तियारको टोली मंगलबार बूढानीलकण्ठस्थित राणाको निवासमा पुगेको थियो। हाल उनी विदेशमा रहेकाले प्रत्यक्ष रूपमा म्याद बुझाउन नसकिएको र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा घरमा सूचना टाँस गरिएको स्रोतले जनाएको छ।
राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा उनको संलग्नता रहेको दाबी गर्दै आयोगमा उजुरी परेपछि अनुसन्धानको दायरा विस्तार गरिएको हो।
पछिल्लो राजनीतिक आन्दोलनका क्रममा भएको आगजनीपछि बूढानीलकण्ठस्थित राणाको निवास क्षतिग्रस्त भएको थियो। उक्त भवन हाल भत्काउने काम भइरहेको बताइएको छ। डा. राणा उपचारका लागि विदेशमा रहेकी छन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि हाल उपचारकै सिलसिलामा विदेशमा रहेका छन्। पछिल्लो समय उनीहरू बूढानीलकण्ठस्थित निजी निवासभन्दा महाराजगञ्ज क्षेत्रमा बसोबास गर्दै आएको बताइन्छ।
यसै प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनीलकुमार केसी तथा तत्कालीन लेखा प्रमुख तुलसीप्रसाद आचार्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न विशेष अदालतबाट थुनामा राख्ने अनुमति समेत लिइएको आयोग स्रोतले जनाएको छ।

