
सांकेतिक रूपमा प्रयोग गरिएको फाइल तस्बीर।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ ले नेपाल विद्युत प्राधिकरणसँग उपभोक्तासँग प्रत्यक्ष जोडिएका मिटर, ट्रान्सफर्मर लगायतका उपकरणहरूको मौज्दात तथा आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका छन् ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकका क्रममा मन्त्री श्रेष्ठले प्राधिकरण व्यवस्थापनसँग उक्त विषयमा छलफल गरेका हुन्।
उपभोक्ताबाट मिटर तथा ट्रान्सफर्मरजस्ता आवश्यक उपकरण सहज रूपमा उपलब्ध नभएको गुनासो बढेपछि मन्त्री श्रेष्ठले यस विषयमा चासो व्यक्त गर्नुभएको थियो। बैठकमा प्राधिकरण व्यवस्थापनले खरिद प्रक्रियामा केही समस्या देखिए पनि हाल पर्याप्त मौज्दात रहेको र थप आपूर्ति हुने क्रममा रहेको जानकारी गराएको छ। व्यवस्थापनले अब उपभोक्ताले यस्ता उपकरणको अभाव बेहोर्नु नपर्ने स्पष्ट पारेको छ।
त्यसैगरी मन्त्री श्रेष्ठले देशभर सञ्चालनमा रहेका नेपाल विद्युत प्राधिकरणका विभिन्न परियोजनाबारे सर्वसाधारणलाई स्पष्ट जानकारी दिने गरी सूचनापाटी राख्न सुझाव दिए ।
उनले सूचनापाटीमा परियोजनाको कुल लागत, निर्माण सम्पन्न हुने अनुमानित अवधि, निर्माण कम्पनीको नाम, परियोजना प्रमुख तथा सूचना अधिकारीको नाम र सम्पर्क नम्बरलगायतका विवरण समावेश गर्न आग्रह गरे ।
मन्त्री श्रेष्ठका अनुसार यस्ता सूचनापाटीले परियोजनाको पारदर्शिता बढाउनुका साथै नागरिकलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउन मद्दत पुग्नेछ।
बैठकमा ऊर्जा क्षेत्रका विभिन्न चालु परियोजनाको प्रगति, कार्यान्वयन अवस्था तथा देखिएका चुनौतीबारे समेत छलफल भएको थियो।

