Nepal Purbadhar

दुई रुपैयाँ बेइमानी गरेको प्रमाण दिनुस्, राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु:अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्ले। फाइल तस्बीर।


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी कर तथा नीतिगत निर्णयमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र चरित्रहत्या गर्ने प्रयास भइरहेको दाबी गरे। नैतिकताको आधारमा सार्वजनिक जीवन बिताएको व्यक्तिको छवि धमिल्याउन विभिन्न आरोप लगाइएको भन्दै उनी भावुकसमेत देखिएका थिए।

उनले आफूले कुनै प्रकारको आर्थिक अनियमितता नगरेको दाबी गर्दै आरोप प्रमाणित गर्न चुनौती दिए।

“दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, म अर्थमन्त्री पद मात्रै होइन, राजनीति र सार्वजनिक जीवन नै त्यागिदिन्छु,” उनले भने।

अर्थमन्त्री वाग्लेले आफ्नो इमानदारीमाथि प्रश्न उठाउनेहरूलाई तथ्य र प्रमाणका आधारमा कुरा गर्न आग्रह गर्दै सार्वजनिक पदमा रहेर पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकता दिएको बताए।

उनले थप प्रश्न गर्दै भने, “यस्तो नैतिक साहस र प्रतिबद्धता अरू कति राजनीतिज्ञ वा सांसदमा छ ?”

पछिल्लो समय विद्युतीय गाडीको कर तथा भन्सार नीतिसम्बन्धी विषयलाई लिएर अर्थ मन्त्रालयमाथि सूचना चुहावट भएको आरोप लाग्दै आएको छ। सोही विषयमा सार्वजनिक लेखा समितिले छलफल गरिरहेको बेला अर्थमन्त्री वाग्लेले आफ्नो धारणा राखेका हुन्।


Read Previous

सुनको मूल्यमा लगातार गिरावट, एकैदिन तोलामा ५ हजार १ सय रुपैयाँ घट्यो

Read Next

निजी क्षेत्रकै ठूलो जलविद्युत आयोजना बनाइरहेका हिम पाठकले दिए इप्पानको उपाध्यक्षमा उम्मेदवारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar