
काठमाडौं । बुद्ध एयरले आफ्ना रोयल क्लब सदस्यहरूका लागि विशेष ‘गज्जबको डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ। आगामी असार १ गतेदेखि लागू हुने उक्त योजनाअन्तर्गत लामो दूरीका गन्तव्यहरू धनगढी, नेपालगञ्ज र भद्रपुरका उडानमा विशेष छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
बुद्ध एयरका अनुसार धनगढी उडानमा १ हजार २०० रुपैयाँ, नेपालगञ्ज उडानमा १ हजार रुपैयाँ तथा भद्रपुर उडानमा ८०० रुपैयाँसम्म छुट उपलब्ध हुनेछ। यो सुविधा दुईतर्फी (राउन्ड ट्रिप) टिकटमा लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीले यो अफर सीमित अवधिका लागि मात्र लागू हुने जानकारी दिएको छ। छुटको सुविधा प्राप्त गर्न रोयल क्लब सदस्यहरूले टिकट बुकिङका क्रममा आफ्नो रोयल क्लब नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ। रोयल क्लब माइलेज आईडी नम्बर समावेश नगरिएका बुकिङमा भने यो अफर लागू नहुने बुद्ध एयरले स्पष्ट पारेको छ।
यात्रुले बुकिङ गर्दा रोयल क्लब माइलेज आईडी नम्बर समावेश गर्न आफ्ना ट्राभल एजेन्सी वा ट्राभल पार्टनरसँग अनुरोध गर्नुपर्ने कम्पनीको भनाइ छ।
बुद्ध एयरको रोयल क्लब सदस्यता वेबसाइट तथा मोबाइल एपमार्फत सहज रूपमा लिन सकिने व्यवस्था छ। सदस्यहरूले ५ किलोग्राम अतिरिक्त लगेज सुविधा प्राप्त गर्नुका साथै सुपरमार्केट, ग्रोसरी स्टोर, होटल, रिसोर्ट तथा गिफ्ट पसलहरूमा माइलेज प्वाइन्ट प्रयोग गरेर विभिन्न छुट प्राप्त गर्न सक्नेछन्।
हाल बुद्ध एयरले देशभर दैनिक ६० भन्दा बढी उडान सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ भारतको वाराणसीमा सोमबार, बुधबार र शुक्रबार तथा कोलकातामा आइतबार, मंगलबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
यसैबीच, बुद्ध एयरले आफ्ना यात्रुहरूलाई मोबाइलमार्फत सहज रूपमा विश्वकप फुटबलका खेलहरू हेर्न सक्ने व्यवस्था मिलाउन एचटिभी–डिजीओ ब्रोडकास्टिङ जेभीसँग सहकार्य गरेको छ। यसअन्तर्गत डिजीओ एपमार्फत फिफा विश्वकपका सबै खेलहरू हेर्न रोयल क्लब सदस्यहरूले निःशुल्क सब्सक्रिप्सन प्राप्त गर्नेछन्।
कम्पनीका अनुसार आगामी चार सातासम्म हरेक साता सयौँ रोयल क्लब सदस्यलाई निःशुल्क सब्सक्रिप्सन उपलब्ध गराइनेछ।
