
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन तथा पुनर्लेखन समितिको प्रतिवेदन सुरक्षित रहेको र आगामी जेठ २९ गते तय गरिएको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सम्पन्न हुने स्पष्ट पारेको छ।
संस्थाभित्र विधान संशोधन प्रतिवेदन कार्यान्वयनको विषयलाई लिएर विवाद चर्किरहेका बेला अध्यक्ष गणेश कार्कीद्वारा आइतबार विज्ञप्ति जारी गर्दै सदस्यहरूलाई भ्रममा नपर्न आग्रह गरेका हुन।
इप्पानले आफ्ना उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक रूपमा ‘विधान गायब भएको’ तथा ‘विधानविपरीत साधारणसभा आयोजना गर्न लागिएको’ भन्ने आरोप लगाएको भन्दै त्यसको खण्डन गरेको छ। संस्थाले विधान संशोधन तथा पुनर्लेखन समितिको प्रतिवेदन सचिवालयमा सुरक्षित रहेको र त्यसबारे विभिन्न चरणमा छलफलसमेत भइसकेको जनाएको छ।
इप्पानको विज्ञप्तिमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य रहेको संस्थाको साधारणसभा तथा अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार २०८० जेठ ३२ गते सम्पन्न २१औँ वार्षिक साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। उक्त समितिले संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावसहितको प्रतिवेदन २०८२ जेठ २९ गते बुझाएको थियो।
सो प्रतिवेदनमाथि २०८२ असार ३१ गते सम्पन्न २३औँ वार्षिक साधारणसभामा छलफल भएको र कार्यान्वयनका लागि अध्यक्षलाई अख्तियारी प्रदान गरिएको इप्पानले जनाएको छ। तर २०८३ वैशाख ४ गते बसेको २००औँ कार्यसमिति बैठकले महासंघमा रूपान्तरणको प्रक्रिया अघि नबढाई विद्यमान विधान–२०७८ अनुसार २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो।
इप्पानका अनुसार २०८३ जेठ २५ गते सम्पन्न २०३औँ कार्यसमिति बैठकले विधान–२०७८ संशोधनसम्बन्धी प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ। प्रस्तावित संशोधनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हटाउने, विधानअनुसार योग्य भएका कार्यसमिति सदस्यलाई अध्यक्ष पदमा उम्मेदवारी दिन सक्ने व्यवस्था गर्ने तथा अन्य सबै पदमा खुला प्रतिस्पर्धाबाट उम्मेदवारी दिन सकिने प्रावधान समावेश गरिएको छ। इप्पानमा वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत:अध्यक्ष हुनेछन् । त्यसपछि वरिष्ठ उपाध्यक्ष स्वत:अध्यक्ष हुन पाउने छैन् । अध्यक्षको निर्वाचन लड्नुपर्नेछ ।
संस्थाले अधिवेशनलाई सर्वसम्मत र भव्य रूपमा सम्पन्न गर्न सबै सदस्यलाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
ऊर्जा व्यवसायीहरूको साझा संस्था इप्पान विधानको परिपालनाप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै संस्थाले आफूविरुद्ध गरिएको प्रचारलाई आधारहीन, कपोलकल्पित तथा संस्थाको छविमा नकारात्मक असर पार्ने प्रयासको संज्ञा दिएको छ।
इप्पानले आगामी जेठ २९ गतेको साधारणसभा तथा अधिवेशन कार्यसमितिको निर्णय र प्रचलित विधानअनुसार नै आयोजना हुन लागेको पुनः स्पष्ट पार्दै यससम्बन्धी सूचना जेठ ९ र १० गते सार्वजनिक गरिसकिएको जनाएको छ। साथै भ्रमपूर्ण प्रचारप्रति सचेत रहन र अधिवेशनलाई सफल बनाउन सम्पूर्ण सदस्य तथा सरोकारवालालाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
