Nepal Purbadhar

भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर सम्पर्कविहीन, ५१५ ट्रक-कन्टेनर हराए


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन भएको नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैठकमा प्रारम्भिक विवरण प्रस्तुत गर्दै बाढीका कारण ५१५ ओटा ट्रक तथा कन्टेनरसमेत हराएको जानकारी दिएको हो।

महासङ्घका अनुसार बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण भए पनि सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने अवस्था छ।

बाढीबाट भएको क्षतिको मूल्याङ्कन तथा क्षतिपूर्तिको आधारसम्बन्धी रायसहितको प्रतिवेदन तयार गर्न पूर्वाधार विकास मन्त्रालयले महानिर्देशक पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र रायसुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

समितिमा मन्त्रालयका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रीको सचिवालयका प्रतिनिधि, यातायात व्यवसायी तथा यातायात मजदुर सङ्घ-सङ्गठनका प्रतिनिधिसहित नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ र महासङ्घका महासचिव बद्रीप्रसाद चौलागाईं सदस्य छन्।


Read Previous

कृष्णभीर खुलेपछि काठमाडौंमा ग्यासको आपूर्ति बढ्यो, प्लान्टमा धमाधम भरिँदै सिलिण्डर

Read Next

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा- तस्बीरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar