Nepal Purbadhar

तापक्रम ४० डिग्रीमाथि, मधेसको जनजीवन प्रभावित, ‘लु’ को जोखिम बढ्यो

नेपालगञ्ज, जनकपुर, विराटनगर, भैरहवा र धनगढीलगायत क्षेत्रमा अत्यधिक गर्मी महसुस गरिएको छ। तस्बीर : नेपाल फोटो लाइब्रेरी


धनुषा। लगातार तापक्रम वृद्धि भएसँगै मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ। प्रदेशका अधिकांश जिल्लामा पछिल्लो एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सर्वसाधारण दैनिक जीवन सञ्चालन गर्न कठिनाइ भोगिरहेका छन्।

जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयका अनुसार तापक्रम अझै केही दिन उच्च रहने सम्भावना रहेकाले स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने अवस्था देखिएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार ‘लु’ लाग्दा अत्यधिक थकान, कमजोरी, अत्यधिक तिर्खा लाग्ने, वान्ता हुने, चक्कर लाग्ने तथा बेहोस हुनेजस्ता समस्या देखिन सक्छन्। प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरले अत्यधिक गर्मीबाट बच्न सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, दिउँसोको समयमा घाममा हिँडडुल नगर्न तथा हलुका कपडा लगाउन सुझाव दिएका छन्।

उनले घरबाहिर निस्कँदा टाउको छोप्ने, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्ने र शरीरमा पानीको मात्रा सन्तुलित राख्न विशेष ध्यान दिन आग्रह गरेका छन्। उनका अनुसार शरीरमा पानीको कमी हुँदा डिहाइड्रेशन, एलर्जी तथा अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन्।

अत्यधिक गर्मीका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित भएका छन्। चर्को घाममा काम गर्न कठिन भएपछि उनीहरूको दैनिक आम्दानीसमेत प्रभावित हुन थालेको छ। यस्तै, शहरी क्षेत्रमा पनि दिउँसोको समयमा मानिसहरूको आवतजावत उल्लेख्य रूपमा घटेको छ।

जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरका प्रमुख राजीव झाले यस वर्ष मनसुनी वर्षा समयमै सुरु हुने सम्भावना कम देखिएको बताए। उनका अनुसार जेठ १८ देखि असोज १३ सम्मलाई मनसुनी अवधि मानिए पनि जेठ अन्त्यतिर पुग्दासमेत मधेसमा अत्यधिक गर्मी कायम रहेको छ।

डा. ठाकुरले तिर्खा नलागे पनि दिनमा कम्तीमा आठ गिलास पानी पिउन सुझाव दिएका छन्। उनले पानीको सट्टा बियर, कफी, सोडा लगायतका पेय पदार्थ सेवन गर्दा शरीरमा पानीको कमी झन् बढ्न सक्ने भएकाले त्यस्ता पेय पदार्थको अत्यधिक प्रयोग नगर्न आग्रह गरेका छन्।


Read Previous

पाँच महिनामै मुस्ताङमा १ लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटक, भारतीय उच्च

Read Next

दिल्लीको एक होटलमा भीषण आगलागी : २१ जनाको मृत्यु, दर्जनौँ घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar