
दमौली। तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्यले तीव्रता पाएको छ। आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म ४ लाख २४ हजार १२० घनमिटर कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ। आयोजना ०८१ साल चैत ७ गतेबाट निर्माण चरणमा प्रवेश गरेको थियो।
एक सय ४० मिटर उचाइको मुख्य बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा पूर्वाधार विकासमा महत्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ।
प्याकेज–१ अन्तर्गत बाँध तथा अन्य संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ। यस प्याकेजअन्तर्गत समग्र प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङसहितका सहायक संरचनाहरूको निर्माण भने सम्पन्न भइसकेको छ।
बाँध निर्माणलाई सहज बनाउन सेती नदीको पथान्तरण गरिसकिएको छ। साथै बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा निर्माण गरिएका अस्थायी बाँधको काम पनि पूरा भएको आयोजनाले जनाएको छ।
निर्माण कार्य निर्धारित समयमै अघि बढेकाले आयोजनाले आगामी वर्षहरूमा उत्पादन लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ।
