
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै करिब ८ अर्ब रुपैयाँ बराबरको दलहन आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार साउनदेखि वैशाखसम्म विभिन्न सात प्रकारका दलहन गरी ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको आयात भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब २१ करोड रुपैयाँ बराबरको दलहन आयात भएको थियो। यस आधारमा चालु आवमा दलहन आयात मूल्यका आधारमा २ अर्ब २४ करोड रुपैयाँ अर्थात् २२ प्रतिशतले घटेको छ।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा ३ अर्ब २० करोड रुपैयाँ मूल्यको मुसुरो दाल आयात भएको छ। गत आवको सोही अवधिमा मुसुरो दालको आयात ४ अर्ब ५० करोड रुपैयाँ बराबर थियो।
त्यसैगरी, यस अवधिमा २ अर्ब ४ करोड रुपैयाँको सिमी तथा राजमा आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा यसको आयात २ अर्ब ७४ करोड रुपैयाँ बराबर थियो।
चना आयात पनि घटेको छ। चालु आवको १० महिनामा १ अर्ब ९२ करोड रुपैयाँको चना आयात भएको छ भने गत आवको सोही अवधिमा २ अर्ब १७ करोड रुपैयाँ बराबरको चना भित्रिएको थियो।
यस्तै, अन्य गेडागुडीको आयात ४२ करोड रुपैयाँ रहेको छ। गत वर्ष सोही अवधिमा यसको आयात ४५ करोड ८८ लाख रुपैयाँ बराबर थियो।
