
काठमाडौं। तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको २५औँ स्मृति दिवसका अवसरमा देशका विभिन्न स्थानमा श्रद्धाञ्जली तथा स्मरण कार्यक्रम आयोजना गरिएको छ। स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको आयोजनामा जावलाखेलस्थित राजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित स्मृति सभा सम्पन्न भएको हो।

स्मृति सभामा वक्ताहरूले राजा वीरेन्द्रको राष्ट्र, शान्ति र विकासका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको वास्तविकता अझै सार्वजनिक हुन नसकेको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष र तथ्यपरक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

प्रतिष्ठानका प्रतिनिधिहरूले दरबार हत्याकाण्ड भएको २५ वर्ष बितिसक्दा पनि जनमानसमा रहेका जिज्ञासा र शंकाको उचित सम्बोधन हुन नसकेको भन्दै घटनाबारे पुनः अनुसन्धान आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रको निधनपछि देशले अभिभावकत्व गुमाएको अनुभूति अझै कायम रहेको उल्लेख गर्दै उनको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने बताए। प्रतिष्ठानले राजा वीरेन्द्रको जन्मजयन्ती, स्मृति सभा, शान्ति गोष्ठी तथा पृथ्वी जयन्तीजस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।

वि.सं. २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित राजपरिवारका १० सदस्यको ज्यान गएको थियो। नेपालको इतिहासमा उक्त घटनालाई सबैभन्दा दुःखद र रहस्यमय घटनामध्ये एकका रूपमा लिइन्छ।
स्मृति सभामा वक्ताहरूले राजा वीरेन्द्रलाई राष्ट्रवादी, शान्तिवादी, विकासप्रेमी तथा प्रजातन्त्रका पक्षधर शासकका रूपमा स्मरण गरे। नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्ने प्रस्तावमार्फत उनले अन्तर्राष्ट्रिय समुदायमा शान्तिको सन्देश दिएको र उक्त प्रस्तावलाई विश्वका ११६ राष्ट्रले समर्थन गरेको विषय पनि कार्यक्रममा उल्लेख गरिएको थियो।

प्रतिष्ठानले दरबार हत्याकाण्ड भएको दिनलाई ‘कालो दिन’ का रूपमा औपचारिक मान्यता दिन सरकारसँग माग गर्दै राष्ट्रिय एकता, शान्ति र विकाससम्बन्धी राजा वीरेन्द्रका विचार आज पनि सान्दर्भिक रहेको जनाएको छ। कार्यक्रममा सहभागीहरूले राजा वीरेन्द्रप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको स्मृतिलाई चिरस्थायी बनाउन राज्यले विशेष पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।

