
प्रधानमन्त्री वालेन्द्र शाह।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी-त्रिशूली बाढी प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको बताएका छन्। आज रक्षाबन्धनको दिन भएको स्मरण सहित सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै उनले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने बताएका हुन्।
प्रधानमन्त्री शाहले भनेका छन्, “आज रक्षाबन्धन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दछु। यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ।”
उनका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन्। हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको र नेपाली सेना तथा निजी क्षेत्रका १६ ओटा हेलिकप्टर उद्धारमा परिचालन गरिएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्रीका अनुसार हालसम्म ९९ हवाई उडान भएका छन् भने प्रभावित क्षेत्रमा ३२ ट्रक तथा हेलिकप्टरमार्फत राहत सामग्री पठाइएको छ। सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको उनले बताएका छन्।
त्यस्तै, रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली-नारायणी करिडोरमा बेपत्ता नागरिक तथा शवको खोजी भइरहेको शाहले बताएका छन्।
विदेशी नागरिकको खोज तथा उद्धारमा पनि विशेष समन्वय भइरहेको उल्लेख गर्दै उनले हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको जानकारी दिएका छन्। भारत, चीनलगायत अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोगबारे निरन्तर समन्वय भइरहेको उनको भनाइ छ।
पुनःबाढीको जोखिमलाई ध्यानमा राखेर पूर्वसूचना दिइएको र २ लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्। सडक, विद्युत्, खानेपानी, दूरसञ्चार र स्वास्थ्य सेवा पुनःस्थापनाका काम पनि तीव्र पारिएको उनले जानकारी दिएका छन्।
प्रधानमन्त्रीले सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित रहेको बताएका छन्। “मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तर काम गरिरहेका छौँ,” उनले भनेका छन्।
