Nepal Purbadhar

भोटेकोशी बाढीपछि उद्धार र विद्युत् पुनःस्थापनामा दिनभर कहाँ के काम भयो?


काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेका छन्।

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको छ भने रसुवाको धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि काम भइरहेको छ।

थप बाढीको जोखिमलाई मध्यनजर गर्दै जोखिम क्षेत्रमा रहेका नागरिकलाई २ लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको मन्त्रालयले जनाएको छ।

बाढीका कारण जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि हेलिकप्टर, उपकरण र दक्ष जनशक्ति परिचालन गरिएको छ। रसुवागढी जलविद्युत् केन्द्रमा फसेका भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको सकुशल उद्धार गरिएको छ।

यस्तै, लाङटाङ भोटेकोशी आयोजनाको सुरुङमा फसेका २५ जना कामदार तथा माथिल्लो त्रिशूली-१ आयोजनासहितका क्षेत्रमा करिब ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिएको मन्त्रालयले जनाएको छ। टनेलभित्र अझै सयभन्दा बढी व्यक्ति फसेको प्रारम्भिक जानकारी रहेकाले उद्धार जारी छ।

६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ को भूमिगत पावरहाउसमा फसेका कर्मचारीको उद्धारका लागि नेपाली सेना र दक्ष प्राविधिक टोलीले पुरिएको केबल टनेलको मुख खुलाउन उत्खनन् गरिरहेका छन्।

प्रारम्भिक विवरणअनुसार प्रभावित जलविद्युत् आयोजनामा कार्यरत एक हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्। उद्धार कार्यलाई रातिसमेत प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई २०० थान हेडल्याम्प र ९०० थान ब्याट्री उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रभावित कर्मचारी तथा मजदुरको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै आवश्यकताअनुसार थप हेलिकप्टर, उद्धार सामग्री, उपकरण र जनशक्ति परिचालन गरिने जनाएको छ।


Read Previous

बाढी प्रभावितको राहतका लागि एक्स्ट्रिम इनर्जी ड्रिंकले दियो १ करोड

Read Next

प्राइम कमर्सियल बैंकले बाढी प्रभावितका लागि सरकारलाई ३ करोड १ लाख दियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar